हेटौंडा अस्पतालले भन्यो- हाम्रा डाक्टर ड्युटी समयमा क्लिनिकमा भेटिए तत्काल कारवाही गर्छौं

हेटौंडा खबर
७ असार २०७९, मंगलवार १८:३१

हेटौंडा अस्पतालका चिकित्सक निजि क्लिनिकमा देखिए तत्काल कारवाही प्रक्रिया थाल्ने अस्पताल प्रशासनले जनाएको छ ।

हेटौंडा अस्पतालमा विभिन्न समस्याका कारण बिरामीलाई हुने गरेको सास्तीको विषयमा चौतर्फी विरोध हुन थालेपछी यस विषयमा हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरि अस्पतालमा देखिएका समस्या समाधान गर्दै लैजाने प्रतिवद्धता जनाएको छ ।

अस्पतालका चिकित्सक निजि क्लिनिकमा जाने गरेको गुनासो बढेपछी व्यवस्थापन समितिले आफ्नो ड्युटी समयमा अस्पतालका कुनै पनि चिकित्सक बाहिरी निजि क्लिनिकमा भेटिए तत्काल कारवाहीको लागि सिफारिस गर्ने अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले बताए ।

“हाम्रो समितिले राखेको चिकित्सक र अस्पतालका सरकारी चिकित्सक बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर कुनैपनि क्लिनिकमा देखिए वा गएको थाहापाए तत्काल कारवाहीका लागि सिफारिस गर्छौं ढुक्क हुनुस”, चौलागाईंले भने ।

अस्पतालमा बिरामी उपचार गर्न आउदा टोकन काट्नदेखि औषधि लिन लाईन बस्नु पर्ने समस्या संरचना अभावको कारण उत्पन्न भएको समितिले जनाएको छ । पहिले थोरै क्षमताको अस्पतालका लागि बनेको संरचनामा अहिले बिरामीको निकै चाप बढेकाले समस्या उत्पन्न भएको र बन्दै गरेको ठुलो भवनमा सरेपछि उक्त समस्या तुरुन्तै हट्ने चौलागाईंले बताए ।

भवन संचालनमा नआउदा सम्मको लागि बिरामीलाई सास्ती हुनबाट रोक्न सकेको प्रयास गर्ने र आम नागरिकलाई परेको असरको विषयमा तत्काल अस्पताल प्रशासन, प्रतिष्ठानका पदाधिकारी र सबै निकायसंग बैठक बसी समस्याको समाधान तर्फ लाग्ने हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*