हेटौंडा अस्पतालमा ओपिडी सेवाको समय थप, अब साढे नौं बजेदेखि बिरामी जाँच हुने
हेटौंडा अस्पतालको ओपिडी सेवाको समय थप गरिएको छ ।
मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा बिरामीको चाप बढेकाले र समयमै उपचार पाउँन नसकेको गुनासो बढेकाले ओपिडीको समय थप गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिएका छन् ।
उपचार गर्न आउने बिरामीले समयमा उपचार नपाउने र लाइनमा धेरै समय बस्नुपर्ने बाध्यता भएको भन्दै यहाँका नागरिकले विरोध प्रदर्शन गर्न थालेपछि अस्पताल संचालन तथा व्यवस्थापन समितिले आज पत्रकार सम्मेलनको आयोजना गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
अस्पतालमा भएको समस्या निराकरण गर्न र बिरामीलाई सास्ती हुँन नदिन ओपिडी सेवाको समय आधा घण्टा थप गरिएको अस्पतालले जनाएको छ । बिरामीले जांचपुर्जा लिन र चिकित्सकसंग परामर्श लिनको लागि घन्टौं कुर्नुपर्ने समस्या समाधान गर्न बिहान साढे नौं बजेदेखि नै ओपिडी सुरु गरेको अस्पतालका मेसु सापकोटाले बताएका छन् ।
अस्पतालमा भएका र देखिएका अन्य समस्या तत्काल समाधान गर्न सर्वपक्षिय छलफल गरी समाधान खोजिने अस्पताल व्यवस्थापन समितिले प्रतिबद्धता समेत जनाएको छ ।
केहिदिन यता अस्पतालमा बिरामीलाई सास्ती भएको विषयलाई लिएर हेटौंडाका नागरिकले अस्पताल परिसरमा शान्तिपूर्ण आन्दोलन स्वरूप प्रदर्शन सुरु गरेका छन् । प्रदर्शन सुरु भए पश्चात अस्पतालले यसप्रति चासो देखाएको छ ।