बागमतीमा गठबन्धन भत्काउने दाउमा एमाले, कसरी बन्लान् नयाँ मुख्यमन्त्री ‘बानियाँ’ ? 

हेटौंडा खबर
१७ असार २०७९, शुक्रबार १०:२७

बागमती प्रदेशमा पुनः मुख्यमन्त्री परिवर्तनको चर्चा सुरु भएको छ ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट गत कार्तिकमा मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेविरुद्ध गठबन्धनकै २ दलले दवाब अभियान सुरु गरेका छन् । मुख्यमन्त्री हुँदा भएको सहमति कार्यानयन नभएको भन्दै नेकाली काँग्रेस र नेकपा माओबादीका सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् ।

उनीहरुले बिहिबारदेखि मुख्यविरुद्ध हस्ताक्षर संकलन गर्न जुटेका हुन् । आधाआधा मुख्यमन्त्री बन्ने सहमतिको साथमा गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेले कांग्रेसलाई मुख्यमन्त्री नछोडेपछी कांग्रेस, माओबादी एकजुट भएका हुन् ।

केहिदिन अघि आर्थिक वर्ष २०७८-०७९ को बजेट पछी मुख्यमन्त्री नेपाली कांग्रेसका इन्द्र बहादुर बानियाँ हुँने भन्ने सहमती भएको लिखित बाहिरिएको थियो । पाण्डेको समय सकिएपछी पनि मुख्यमन्त्री पद छोड्न आलटाल गरेको र केन्द्रको निर्णय कुर्नुपर्ने कुरा गरेपछि कांग्रेस सत्तारोहणका लागि लागिरहेको छ ।

बिहिबार प्रदेशसभामा आर्थिक वर्ष २०७९-८० को बजेट पास हुँने बित्तिकै नेपाली कांग्रेस र मावोबादीका सांसदले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

हस्ताक्षर सुरुभएपछी मुख्यमन्त्री पाण्डेले प्रतिक्रिया जनाएका छन् । उनले बिहिबार सामाजिक संजालमा लेख्दै सरकार परिवर्तनसँग जोडेर उठेका प्रश्नहरुको निरुपण पांच दलको बैठकमा हुने जनाएका छन् । उनले लेखेका छन् ‘बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरूको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुनेछ। गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछ,’।

उता नेपाली कांग्रेसले भने सहमतिमै सरकार परिवर्तनको प्रक्रिया सुरु गरिएको बताएका छन् । बिहिबार संचारकर्मीको प्रश्नमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँले अबको केहिदिनमै सरकार परिवर्तन हुने बताए ।

‘हस्ताक्षर भनेको अभियान हैन प्रक्रिया हो, मुख्यमन्त्री ज्यु सहमतिका लागि बाधक बन्नुभएको छैन, हामीले प्रक्रिया थालेका हौँ’, उनले भने ।

उता नेकपा माओबादी केन्द्रका सांसद युवराज दुलालले सहमति र छलफलबाटै नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सिरु गरिएको बताएका छन् । ‘पहिलेको सहमति अनुसार आलोपालो मुख्यमन्त्री भन्ने थियो, इन्द्र बानियाँ ज्युले नै सहमती अनुसार प्रक्रिया थालौं भनेपछि हामीले प्रक्रिया सुरु गरेका हौँ, यो कोहिविरुद्धको हस्ताक्षर होईन’, उनले भने ।

दाउ हेर्दै एमाले, औपचारिक रुपमा आए सकारात्मक

यता नेकपा एमाले अहिलेको गठबन्धन कसरी भत्किन्छ भनेर दाउ हेरेर बसेको छ । हस्ताक्षर संकलन सुरुहुने बित्तिकै एमाले खुसि भएको छ । उसले नयाँ सरकारलाई सहयोग गर्ने  भन्ने एक किसिमको विश्लेषण पनि हुन थालेको छ । यस अघि प्रदेशमा भएको नेकपाको सरकार रहदा एमालेबाट फुटेर एस बनेपछि एमालेका १३ सांसद घटेका थिए । त्यहिँ चोट एमालेले बिर्सिएको छैन ।

त्यसैले पनि एमाले नेपाली कांग्रेसको सरकार बनाउनु पर्छ भन्ने पक्षमा देखिएको अनुमान गर्न सकिन्छ । केहि गरी गठबन्धन तोडियो र नेकपा एसले नयाँ मुख्यमन्त्रीलाई समर्थन नगर्ने अवस्था देखिए एमालेले तुरुन्तै सहयोग गर्ने छाँट देखिएको छ । अर्को तर्फ गठबन्धनमा टुटफुट आए अहिलेकै मुख्यमन्त्री पाण्डेलाई विस्वासको मत दिएर जोगाउने पक्षमा एमाले जान्छ कि भन्ने पनि आंकलन गरिएको छ । एमाले कसरी हुन्छ गठबन्धन तोडिए नयाँ जसलाई पनि समर्थन गर्न सक्ने पक्षमा रहेको बुझिएको छ ।

नयाँ सरकारका लागि औपचारिक रुपमा सहयोग गर्नुपर्यो भनेर आए एमाले सकारात्मक रहेको एमाले मुख्य सचेतक दिपक निरौलाले बताएका छन् । उनले भने, ‘ बागमतीमा नयाँ सरकार बनाउन एमाले नै निर्णायक बन्छ, यो अप्राकृतिक गठबन्धनको सरकार फालेर नयाँ सरकार बनाउन एमालेको साथ् हुन्छ तर एमाले सरकारमा भने जाँदैन’।

राजेन्द्र पाण्डे ११ कात्तिकमा आलोपालो हुनेगरी सहमतिमा मुख्यमन्त्री बनेका थिए । कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका गरी ५९ प्रदेशसभा सदस्यको समर्थनमा उनि मुख्यमन्त्री बनेका थिए।

प्रदेशसभामा कांग्रेसका २२, माओबादीका २३, नेकपा एसका १३, एमालेका ४१ जना सांसद छन् ।

यसलाई हेर्दा अहिले बागमती प्रदेशमा नेकपा एमालेले कसको समर्थन गर्छ भन्नेमा सरकार परिवर्तनको कुरो टुंगिने देखिएको छ । एमाले भने कुनैपनि हालतमा गठबन्धन ढाल्ने पक्षमा छ । यदि गठबन्धनका दलहरु विच सहमति नभई कांग्रेसले मुख्यमन्त्री फेरिनुपर्छ भनेर हिंडे एमालेको साथ अनिवार्य छ । अर्कोतर्फ अहिलेका मुख्यमन्त्री पाण्डेले गठबन्धनको वास्था नगरी मुख्यमन्त्री नछाडे उनलाई एमालेले सहयोग गर्नुपर्छ ।

त्यसैले गठबन्धनका दलहरुबिच भएका सहमति कार्यनयन गरेर गठबन्धन नतोडी अघि बढ्ने या एमालेको साथ लिएर गठबन्धन भत्काउने र नयाँ सरकार गठन गर्ने भन्ने विषयमा गठबन्धनका दलले कुनै प्रतिक्रिया दिएका छैनन्  । गठबन्धनले छलफल र सहमतिमै मुख्यमन्त्री फेर्ने प्रक्रिया अघि बढाएको बताउदै आएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*