ड्युटी समयमै निजि क्लिनिकमा जाने हेटौंडा अस्पतालका डाक्टरलाई प्रशासनले किन गर्दैन कारवाही ?

प्रशासन र चिकित्सककै मिलेमतोको आशंका
हेटौंडा खबर
२९ असार २०७९, बुधबार २२:१७

हेटौंडा अस्पतालका चिकित्सक आफ्नो ड्युटी समयमा बाहिरी निजि क्लिनिकमा जाँदा समेत अस्पताल प्रशासन मौन बस्ने गरेको छ ।

हेटौंडा अस्पतालमा बिहान १० बजेदेखि ३ बजेसम्म सेवा दिनुपर्ने चिकित्सक यही समयमा निजि क्लिनिकमा गएर बिरामी जाँच्ने गरेका छन् । अस्पतालमा कुनै जानकारी नगराई हाजिरसमेत नगरी निजि क्लिनिकमा बस्ने चिकित्सकलाई अस्पताल संचालन तथा व्यवस्थापन समितिले कुनै कारबाही गर्न नसक्दा हेटौंडा अस्पतालका चिकित्सकले मनलाग्दी गर्दै आइरहेका छन् ।

सोमबार हेटौंडा अस्पतालका  एनेस्थेटिस्ट (बेहोस बनाउने डाक्टर) सुबास बाबु लामिछाने  निजि क्लिनिकमा बिरामी जाँचेर बसेका थिए । यसबारे हामीले खबर प्रकाशन गरेका थियौं । अस्पतालमा हाजिर नै नगरी ड्युटी छाडेर निजीमा गएको प्रमाणित भएपनि अस्पताल प्रशासनले उनलाई स्पस्टिकरण समेत सोध्न नसक्दा यस्ता चिकित्सक र अस्पताल प्रशासनकै मिलेमतोमा निजि क्लिनिक धाउने गरेका हुन् कि भन्ने आशंका उब्जिएको छ ।

केहिदिन अघि एक कार्यक्रममा अस्पताल संचालन तथा व्यवस्थापन समितिले आफ्ना चिकित्सक ड्युटी समयमा बाहिर भेटिए तत्काल कारबाही गर्ने बताएको थियो । तर त्यसपछि पनि पटक पटक चिकित्सकहरु निजि क्लिनिकमा धाउन छोडेका छैनन् । तर अस्पताल प्रशासन भने नदेखे जस्तो गरिरहेको छ । यसले अस्पताल समिति र निजीमा जाने चिकित्सक बिच तालेमेल छ भनि शंका गर्ने ठाउँ बनेको छ ।

उता अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाई भने सोमबार निजीमा भेटिएका चिकित्सकलाई तत्काल २४ घन्टे स्पस्टिकरण सोध्न भनिएको बताएका छन् । ‘हामीले सोमबार नै बैठक बसी २४ घन्टे स्पस्टिकरण सोध्न मेसुलाई भनिसकेका छौं कारवाही प्रक्रिया सुरु गर्नुभयो होला कि’, उनले भने ।

उता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले भने बुधबार सम्म ति चिकित्सकलाई कुनै स्पस्टिकरण सोधेका छैनन् ।

यसरी अस्पतालमका चिकित्सकको मनलाग्दी र अस्पताल समितिको मौन समर्थनले गर्दा जिल्लाको एक मात्र सरकारी अस्पतालमा बिरामीले सेवा पाउन निकै सकस हुने गरेको छ ।

यो पनि पढ्नुहोस

हेटौंडा अस्पतालका यी डाक्टर जो १० बजेपछि पनि निजि क्लिनिकमा थिए, कारबाही गर्ला प्रशासनले ?

हेटौंडा अस्पतालले भन्यो- हाम्रा डाक्टर ड्युटी समयमा क्लिनिकमा भेटिए तत्काल कारवाही गर्छौं

 

यसमा तपाइको मत

Your email address will not be published.


*