प्रवक्ता श्रेष्ठ भन्छन् : “नेकपा फुटेको छैन”

हेटौंडा खबर
७ पुष २०७७, मंगलवार २१:१०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी नफुटेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको जानकारी दिंदै प्रवक्ता श्रेष्ठले नेकपा नफुटेको बताएका हुन् ।

“नेकपा फुटेको छैन, नेकपा एकीकृत र एकताबद्धरुपमा छ”, उनले भने । साथै उनले आफू कसैको, कुनै व्यक्ति र गुटको प्रवक्ता नभई नेकपाको प्रवक्ता भएको जिकिर गरे । “बैठकले मलाई थप उत्साहित ढङ्गबाट प्रवक्ताको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ”, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी नेता माधवकुमार नेपाललाई सर्वसम्मत ढङ्गले पार्टी अध्यक्षमा चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अध्यक्षतामा आज बसेको बैठकले पूर्वप्रधानमन्त्री नेपाललाई अध्यक्षमा चयन गरेको हो ।

पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गर्दै बैठकले पार्टी अन्तरिम विधानानुसार अनुशासनको कारबाही गरी ओलीलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीका रिक्त सदस्यमा मनोनयन गर्ने कमिटीकै प्रस्तावलाई सर्वमम्मतिले अनुमोदन गरेको छ ।

बैठकले पार्टीका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीलाई यसअघि गरिएको अनुशासनको कारबाहीबाट फुकुवा गरी पूर्ववत् जिम्मेवारी दिने निर्णय पनि गरेको छ । बैठकले फुटवादी क्रियाकलापका विरुद्ध तथा पार्टी एकताका पक्षमा अपिल गर्दै विभिन्न प्रस्तावसमेत पारित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*