अब जनताले कम्युनिष्टलाई पत्तासाफ पार्छन् : काङ्ग्रेस नेत्री ‘डीना’

हेटौंडा खबर
१३ पुष २०७७, सोमबार २०:००

नेपाली कांग्रेसकि केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले अब जनताले नै कम्युनिष्टलाई नेपालबाट पत्तासाफ गराउने चेतावनी दिएकी छिन् । सोमबार मकवानपुरको थाहा नगरपालिकामा भएको क्षेत्र नम्बर २ को विरोध प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीले सनकको भरमा प्रतिनिधिसभा संसद् विघटन गरेर जनतमतलाई धोका दिएको बताइन् ।

उनले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले देशको बलात्कार गरेको आरोप समेत लगाईंन् । उनले भनिन्, “निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब दुई बर्ष पुगिसकेको छ, दिनहुँ बलात्कार र हत्या बढिरहेको छ,सोही अनुपातमा भ्रष्टाचार पनि बढिरहेको छ, तर सरकार ‘बलात्कारी र हत्यारा पक्राउ गर्न सकेको छ,न भ्रष्टाचार नियन्त्रण नै” ।

पूर्व राज्यमन्त्री समेत रहेकी डीनाले सरकार सर्वसत्तावाद उन्मुख भएको धारणा राख्दै सरकारको रबैयाको विरुद्ध नेपाली जनता सडकमा ओर्लिएको दावी गरिन् । ‘सरकारको गल्तीले सारा जनताको आँखामा आँसु छ तर सरकार आँसु पुछ्न छोडेर भ्रष्टाचारमा डुबेको उनले बताइन् ।

नेपालमा राजतन्त्र ढलेको स्मरण गराउँदै अब जनताले कम्युनिष्टलाई नेपालबाट पत्तासाफ गराउने बेला आएको भन्दै संसद् विघटन असंवैधानिक एवम् अलोकतान्त्रिक भएकाले यसको बिरुद्ध सबै एक हुनु आवश्यक रहेको पनि बताईन ।

कांग्रेस मकवानपुर २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको अध्यक्षतामा भएको विरोध प्रदर्शन कार्यक्रममा कांग्रेस मकवानपुर सचिव बुद्ध लामा र आनन्द कठायत, कांग्रेस मकवानपुर सल्लाहकार एवम् महासमिति सदस्य जयराम लामिछाने, महासमिति सदस्य उमा दाहाल, बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्त चेपाङ, महासमिति सदस्य उदयमोहन श्रेष्ठलगायतले कम्युनिष्ट सरकार सर्वसत्तावादी भएको र अलोकतान्त्रिक एवम् असंवैधानिक निर्णय गर्दै अघि बढेको धारणा राखेका थिए ।

कार्यक्रममा महासमिति सदस्य दिनेश उपाध्याय, तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठकलगायतका नेताहरुको आतिथ्यता थियो । कार्यक्रममा सत्तारुढ दल नेकपा र राप्रपा परित्याग गरी ३० जना कांग्रेसमा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*