मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलका उपनेता र सचेतक बर्खास्त
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् ।
मुख्यमन्त्रीविरुद्ध शालिकरामकै नेतृत्वमा केहिदिन अघि अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उनीहरुलाई मंगलबार पदमुक्त गर्दै स्पष्टीकरण समेत सोधिएको छ । उनीहरुसहित अन्य ३० जना सांसदलाई स्पष्टिकरण सोधिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
पार्टीको हित बिपरितको गतिविधि गरेको र सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै उनीहरुलाई पदबाट हटाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
दलको नेताको हैसियतले उपनेता र सचेतकलाई हटाइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले बताएका छन् । उनीहरु दुवैजना पूर्व माओवादी पक्षका हुन् ।