अमलेखगञ्जदेखी लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

हेटौंडा खबर
२६ पुष २०७७, आईतवार ०८:५०

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्‍याउने लक्ष्यसहित काम शुरु भएको नेपाल आयल निगम (एनओसी)ले जनाएको छ ।

‘अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनलाई अगाडि बढाउनेबारे अध्ययन भइरहेको छ’, नेपाल–भारत पाइप लाइन ज्वाइन्ट अध्ययन ग्रुप नेपालतर्फका संयोजक वीरेन्द्र गोइतले राससलाई भने, ‘लोथरसम्म सो पाइप लाइन विस्तार कसरी गर्ने, त्यसमा कति खर्च लाग्नेबारे अध्ययन तथा छलफल भइरहेको छ ।’

मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिनेछ र यसका लागि नेपाल तथा भारत सरकारबीच आपसी समझदारीपश्चात सर्भे सकिएपछि संयुक्त कार्यदलले डिपिआर कार्ययोजना मोडालिटीसम्बन्धी काम गरिरहेको छ । लोथरमा एक लाख किलोलिटर पेट्रोलियम भण्डारण हुने बताइएको छ ।

यसअघि २०७६ भदौदेखि भारतको मोतिहारीबाट सो पाइप लाइनमार्फत अमलेखगञ्जस्थित निगमको डिपोमा डिजेल ल्याउने गरेकामा अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउने गृहकार्य शुरु भएको एनओसी प्रदेश–२ प्रादेशिक कार्यालयका प्रमुख भरत रेग्मीले बताए ।

‘निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउने स्वीकृति दिएपछि सो काम अगाडि बढाउन भारतीय आयल निगम (आइओसी) सँग सो सम्बन्धमा काम अगाडि बढाउन अनुरोध गरिएको छ’, प्रादेशिक प्रबन्धक रेग्मीले भने, ‘४२–४२ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमताको दुईवटा पेट्रोल ट्याङ्की अमलेखगञ्ज डिपोमा तयार भइरहेको छ ।’ नेपाल सरकारको १२० करोड भारतीय रुपैयाँको लागतमा निर्माण भइरहेको सो पाइप लाइनमा अन्तर्राष्ट्रिय गुणस्तरको पाइप जडान गरिएको छ भने निर्माण भइरहेको पेट्रोल ट्याङ्कमा स्वचालित मेसिनबाट जाँच गर्ने खालको हुनेछ ।

आइओसीले भारतको मोतिहारीमा भर्टिकल ट्याङ्क निर्माण गर्ने काम शुरु गरेको छ । यता अमलेखगञ्जस्थित एनओसीलेको कार्यालयमा पेट्रोल आपूर्ति गर्नका लागि आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइएको छ । सो कार्यालय हाताभित्र पश्चिमतर्फ रहेको छ बिघा क्षेत्रफलमा रहेको खाली जग्गामा आवश्यक काम हुनेछ भने सो जग्गाको नक्सापास, लागत अनुमान तथा माटो परीक्षणसमेत भइसकेको छ ।

आयोजना निर्माणको कागजी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । त्यसपछि बोलपत्र आह्वान गरी निर्माण शुरु गरिने बताइएको छ । हाल सो पाइपबाट भारत विहारको राजधानी पटनामा पम्पिङ गरेर अमलेखगञ्ज डिपोमा डिजेल आउने गरेको छ । मोतिहारीमा पेट्रोल ल्याउने काम सम्पन्न भएपछि त्यहीबाट पम्पिङ गरेर पेट्रोल पनि ल्याइनेछ । प्रतिघण्टा तीन लाखदेखि चार लाख लिटरसम्म पेट्रोल आपूर्ति गर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*