मकवानपुरको १० वटै स्थानीय तहमा विरोधसभा गर्ने काङ्ग्रेस मकवानपुरको तयारी

हेटौंडा खबर
२ माघ २०७७, शुक्रबार १८:४७

प्रधानमन्त्रीको संसद विघटन गर्ने असंवैधानिक कदम विरुद्ध भोली भाघ ३ गते मकवानपुरका सबै स्थानिय निकायमा हुने विरोध प्रदर्शन एवम विरोध सभाको तयारी पुरा भएको काङ्ग्रेस मकवानपुरले जनाएको छ ।

केन्द्रीय कार्यक्रम अनुसार हुने विरोध प्रदर्शन र विरोध सभाको सम्पूर्ण तयारी सकिएको नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले जानकारी दिए ।

शुक्रबार पार्टी कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति पराजुलीले नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार नै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित शितल महल चोकमा १ बजे विरोध सभाको कार्यक्रम गर्न लागिएको जानकारी दिए । सभाअघि फरेष्ट्रि क्याम्पस अगाडी भेला भएर विरोध र्याली समेतको प्रदर्शन हुनेपनि सभापति पराजुलीले बताए ।

भेलालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र विघटित संसदका सदस्य प्रखर बक्ता प्रकास स्नेहीले सम्बोधन गर्ने पनि सभापति पराजुलीले जानकारी दिए । जिल्लाको १० वटै स्थानीय तहमा गर्न लागेको विरोध प्रदर्शन तथा विरोधसभाको सम्पूर्ण तयारी सकिएको नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

विरोध प्रदर्शन सहितको सभाको लागी नेपाली कांग्रेस मकवानपुरले यसअघिनै सम्पूर्ण १० वटै स्थानिय निकायमा प्रतिनिधि समेत तोकेको छ । प्रदर्शन तथा विरोधसभाका लागि हेटौंडा उपमहानगरपालिकामा कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने र थाहा नगरपालिकामा जिल्ला सल्लाहकार जयराम लामिछानेलाई जिल्ला प्रतिनिधि तोकेको छ ।

त्यसैगरी बागमती गाउँपालिकामा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, बकैया गाउँपालिकामा प्रवक्ता प्रदिप कोइराला, मकवानपुर गढी गाउँपालिकामा सहसचिव रामबाबु बानियाँ र भीमफेदी गाउँपालिकामा सल्लाहकार रिता खनाललाई जिल्ला प्रतिनिधि तोकेको छ । त्यस्तै ईन्द्रशरोबर गाउँपालिकामा जिल्ला सचिव बुद्ध लामा, कैलाश गाउँपालिकामा सल्लाहकार प्रभातकुमार दाहाल, राक्सीराङ गाउँपालिकामा सल्लाहकार उमा दाहाल र मनहरी गाउँपालिकामा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याललाई जिल्ला प्रतिनिधि तोकेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*