सभामुखले सिस्टमको धज्जी उडाए : अष्टलक्ष्मी शाक्य

हेटौंडा खबर
१९ माघ २०७७, सोमबार १६:५९

प्रदेशसभा सदस्य तथा नेकपा माधव नेपाल-प्रचण्ड समूह वाग्मती प्रदेश संसदीय दलकि नेता अष्टलक्ष्मी शाक्यले सभामुख सानु कुमार श्रेष्ठले सिस्टमको धज्जी उडाएको आरोप लगाएकी छिन् ।

सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति सूचना टाँसेर स्थगित गरे पछि आज हेटौँडामा आयोजना भएको पत्रकार सम्मेलनमा नेता शाक्यले सभामुखले अल्पमतमा रहेको सरकारलाई सहयोग पुर्याएर उसैको लाचार छाया बनेको बताइन् ।

शाक्यले प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा त्यस विषयलाई टुंग्याउनुपर्ने जिम्मेवारीबाट सभामुख पन्छिएर बैठक स्थगित गरेको र स्वयच्छाचारी ढंगबाट अलोकतान्त्रिक काम गरेकोले यसको घोर बिरोध गर्ने जनाइन् ।

उनले सभामुखले कुनैपनि दल र प्रदेशासभा सदस्यको मान्यता नराखेको बताउदै उनलाई भेट्न खोज्दा समेत भेट्न नमानेकोमा दुख लागेको बताईंन । सभामुख श्रेष्ठलाई आफुले गरेको गल्ति सच्याएर तुरुन्त बैठक डाक्न समेत नेत्री शाक्यले आग्रह गरिन् ।

सोमबार बस्ने भनिएको बैठक आइतबार राति एक सुचना निकालेर स्थगित गएपछि नेकपा माधव नेपाल( प्रचण्ड समूह आज बिहानैदेखि बिरोधमा उत्रिएको हो । त्यतिमात्र हैन बैठक स्थगित भएपछी हेटौंडा स्थित प्रदेशसभा सचिवालय परिसरमा प्रदेश सभा सदस्यहरुले बैठकको माग गर्दै नाराबाजी समेत गरेका थिए ।

‘अल्पमतको सरकार राजीनामा दे, प्रदेशसभा सुचारु गर,’ जस्ता नारा लगाउदै नेकपा प्रचण्ड(नेपाल पक्षका प्रदेश सांसदहरु युवराज दुलाल, नेकपा मकवानपुर अध्यक्ष समेत रहेकी मुनु सिग्देल , शालिकराम जम्कट्टेल लगायतले प्रदर्शन गरका हुन् ।

प्रदेशसभा सचिव कृष्णहरि खड्काका अनुसार सोमबार बस्ने भनिएको बैठक फागुन ५ गतेका लागि सारिएको छ । सोमबारका लागि बोलाइएको बैठकमा पुस १० गते प्रदेश सभामा दर्ता भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने कार्यक्रम तय थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*