मकवानपुरको खैराङमा ७ करोड लागतमा स्वास्थ्यचौकी भवन

हेटौंडा खबर
२० माघ २०७७, मंगलवार २१:०६

मकवानपुरको राक्सिराङ गाउँपालिका स्थित खैराङमा ७ करोड रुपैयाको लागतमा स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) को सहयोगमा निर्माण सुरु भएको भवनको मंगलबार बागमती प्रदेश सभा सदस्य सन्त चेपाङ र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
डेढ बर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी ललितपुरको मैनापोखरी कन्स्ट्रक्सनले ठेक्का पाएको छ । दुई तले भवनमा भुई तलामा २१ वटा कोठा निर्माण गरिने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । माथिल्लो तलामा भने ४ परिवार बस्न मिल्ने आवासीय फ्ल्याट बन्नेछ ।
स्वास्थ्य चौकीबाट राक्सिराङ वडा नम्वर ९ र ४, कैलाश गाउँपालिकाको केहि क्षेत्र र धादिङको बेनिघाट रोराङ गाउँपालिकाको केहि क्षेत्र गरी झण्डै १० हजार सर्वसाधारणले स्वास्थ्य सुविधा प्राप्त गर्ने अध्यक्ष मल्लले जानकारी दिए । स्वास्थ्यचौकी निर्माण भएपछि एम्बुलेन्सको समेत व्यवस्था गरिने उनले प्रतिबध्दता जनाए । साथै स्वास्थ्य चौकीलाई अस्पतालमा रुपान्तरणको प्रयास समेत गरिने उनले बताए ।
प्रदेश सभा सदस्य सन्त चेपाङले विकट क्षेत्रका नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भनी आफूले सम्बन्धित निकायमा पहलका लागि काम गर्दैआएको बताए । सुविधासम्पन्न स्वास्थ्यचौकी बनेपछि यहाँका बासिन्दाहरु सामान्य उपचारको लागि पनि मनहरी, भरतपुर, हेटौंडा अथवा काठमाण्डौं जानुपर्ने समस्याको अन्त्य हुने उनले बताए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का बिष्णु अर्यालले स्वास्थ्य चौकी भवन समय अगावै सम्पन्न गर्नेगरी काम गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*