हेटौंडा गोल्डकपको उपाधि आयोजक कै पोल्टोमा
मकवानपुरको हेटौंडामा जारी ‘हेटौंडा गोल्डकप’ को उपाधि आयोजक टिम एफ.सी विजय युथ क्लबले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा सेन्ट्रल कलेज वि.एफ.सी भरतपुरलाई २–१ गेल अन्तरले विजय युथ क्लब विजयी भएको हो । हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको फाइनल खेल पहिलो हाफमा खेल गोल रहित बराबरी भएको थियो ।
खेलको दोस्रो हाफको ५७ मिनेटमा सेन्ट्रल कलेजका रन्जित आलेमगरले बललाई जाली चुमाउन सफल भए । खेलको ६० औं मिनेटमा विजय युथका सन्त गुरुङले कर्नरबाट आएको बललाई हेड मार्फत गोल पश्चात गोल बराबरीमा पुराएका थिए । बराबरी गोल पश्चात खेल रोमान्चित भएको थियो ।
खेलको ६६ औं मिनेटमा विजय युथलाई पेनाल्टीको अवसर पायो र सोही अवसरको सदुपयोग गर्दै रुपेश केसीले गोलकिपर मनोज गुरुङलाई छ्क्याउदैं बललाई जाली चुमाउन सफल भए । केसीले गरेको गोलनै फाइनल खेलको निर्णायक गोल बन्न पुग्यो । खेलको म्याच अफ दि म्यान विजय युथका सन्त गुरुङ भएका थिए ।
खेलको विजेता एफ.सी विजय युथले नगद तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता सेन्ट्रल कलेज भरतपुरले नगद एक लाख पचास हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
खेल अवधिमा सर्वाधिक गोलकर्ता सेन्ट्रल कलेजका जोन ग्लोरी पुरस्कृत भए । ग्लोरीले खेल अवधिमा सेन्ट्रल कलेजका लागि पाँच गोल गरेका थिए । खेलको सर्वोत्कृष्ट खेलाडी एफ.सी विजय युथका रुपेश केसी बने । खेलमा १० वटा टिमले सहभागिता जनाएका थिए ।