‘बकैया’ नेपालको दोस्रो बालमैत्री गाउँपालिका घोषणा

हेटौंडा खबर
२९ माघ २०७७, बिहीबार १९:०५

मकवानपुरको बकैया गाउँपालिका नेपालको दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहिबार बकैया गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने दोस्रो बालमैत्री गाउँपालिका भएको घोषणा गरेका हुन् ।

यसअघि मकवानपुरकै मनहरी गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका बनेको थियो ।

देशकै दोस्रो बालमैत्री गाउँपालिका बनेकोमा बधाई दिँदै मुख्यमन्त्री पौडेलले घोषणा अनुसारको कार्यमा निरन्तर लागि पर्न आग्रह गरे । बालमैत्री सूचकहरू भित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता महत्वपूर्ण भएकोले गाउँपालिकाका सबै पक्षहरूले यसलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

उनले प्रदेश सरकारले बालबालिकाको हितमा थुप्रै काम गरेको र बालमैत्री कार्यका लागि स्थानीय तहलाई सहयोग गर्ने पनि बताए । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बागमती प्रदेशलाई बालमैत्री प्रदेश बनाउने तयारीमा अघि बढेको समेत बताए ।

घोषणा कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्र बानियाँले बधाई दिँदै घोषणा अनुसारको कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
जिल्ला समन्वय समिति मकवानपुरले बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्न अनुमति प्रदान गरे संगै आज बृहत कार्यक्रमका बीच बकैयालाई बालमैत्री घोषणा गरिएको हो ।

बकैया गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि, २०७० र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँपालिकाभित्रका १२ वटा वडाहरू बालमैत्री स्थानीय शासन प्रवर्धन कार्यान्वयन घोषणाको लागि तीन वर्ष अघिदेखि काम गर्दै आएको थियो ।

बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणाका लागि बालमैत्री गाउँपालिका घोषणा गर्न ३९ ओटा सूचकहरूमा रहेर काम गरीएको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए । मापदण्डमा १७ ओटा सूचक १०० प्रतिशत हासिल गर्नुपर्नेमा १९ वटा शतप्रतिशत र २२ वटा सूचक न्यूनतम ८० प्रतिशत हासिल हुनुपर्ने हुन्छ । जसमा २० सूचकमा सफलता हासिल गरिएको अध्यक्ष खनालले बताए ।

कुल ४६ हजार २ सय ४८ जनसंख्या भएको बकैयामा ८ हजार ४ सय ३१ घरधुरी रहेका छन् । जसमा बालबालिकाको संख्या १७ हजार ४ सय ६० रहेको छ । ७६ वटा सामुदायिक र ५ वटा सस्थागत गरि कुल ८१ वटा बिद्यालय रहेको बकैयामा बाल बिकास केन्द्र ७४,बालसमुह ११३ वटा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*