मकवानपुरको खैराङमा घुम्ती शिविर, ३ सय २७ जनाले लिए स्वास्थ्य सेवा
मकवानपुरको राक्सिराङ गाउँपलिकाले वडा नम्बर ९ स्थित डन्टारमा गरेको निशुल्क घुम्ती स्वास्थ्य शिविरमा ३ सय २७ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
प्रत्येक वडामा स्वास्थ्य शिविर तथा अपाङ्गता परिचयनपत्र र सहायक सामाग्री वितरण गरिरहेका गाउँपालिकाले मंगलबार खैराङस्थित डन्टारमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा २० जनाको रक्तचाप जाँच, १० जनाको निमोनिया जाँच, ६२ जनाको छाला रोगको जाँच, ८७ जनाको पाठेघर जाँच, ८ जनालाई इम्प्लान्ट र १४ जनालाई आइयुसिडी सेवा दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिए ।
२ जना अपाङ्गलाई अपाङ्ग परिचयपत्र वितरण गरिएको थियो भने एकजना अपाङ्गलाई ह्वीचियर सहयोग गरिएको थियो । गाउँपालिकाका डाक्टर धनबहादुर खत्रीसहित हेटौंडा र चितवनको स्वास्थ्यकर्मीको टोलीले विकट गाउँमा गएर निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो । शिविरमा स्वास्थ्य जाँच गर्नेलाई गाउँपालिकाले निशुल्क औषधिसमेत वितरण गरेको थियो ।
जटिल बिरामी देखिएकाहरुलाई गाउँपालिकाले नै खर्चको व्यवस्थापन गरी अन्यत्र उपचार गर्न पठाउने व्यवस्थासमेत गरिएको गाउँपलिका अध्यक्ष राजकुमार मल्लले बताए । शिविरमा पाठेघर जाँच, यौनरोग उपचार, ब्लड प्रेसर, सुगर तथा खकार परीक्षणलगायतको सेवा उपलब्ध गराइएको थियो । परिवार नियोजन सेवाअन्तर्गत आइयुसिडी इम्प्लान्टसमेत वितरण गरिएको थियो ।
अपाङ्गता भएकाहरुलाई गाउँमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिएको साथै साहायक सामाग्रीसमेत वितरण गरिएको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख गोविन्द अधिकारीले जानकारी दिए । गाउँपालिकाले गत फागुन ६ गतेबाट प्रत्येक वडामा निशुल्क स्वास्थ्य शिविर सुरु गरेको हो ।
६ गते वडा नम्बर १ मा शिविर सञ्चालन गरिएको थियो भने ८ गते प्रजापति निमावि कुँडुलेमा शिविर सञ्चालन गरिएको थियो । १० गते सूर्योदय मावि पँलासेमा शिविर सञ्चालन गरिएकोमा मंगलबार खैराङ स्वास्थ्यचौकी डन्टारमा सेवा दिइएको थियो ।
४ नम्बर वडा कार्यालय र स्वास्थ्य संंस्थामा १३ गते, सिलिङ्गे मावि काँकडामा २० गते, आधारभूत विद्यालय दाम्राङमा २१ ग्ते, देविटार विद्यालयमा २३ गते र चैनपुर स्वास्थ्यचौकीमा २५ गते शिविर राखिएको गाउँपालिका स्वास्थ्य संयोजक कापरीले बताए ।