एमाले र माओवादी केन्द्र ब्यूतिएपछि प्रचण्डले भनेः देशमा अनिष्टको संकेत
माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले जन्मेको बच्चालाई फेरी आमाको पेटमा लगिदिएको बताएका छन् । सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेर माओवादी केन्द्र र एमाले नै कायम हुने फैसला सार्वजनिक गरेपछि उनले यस्तो बताएका हुन् ।
शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अनौठो परिघटनाहरु भइरहेकाले फेरी अनिष्ठ हुने संकेत देखा परेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी नचाहेका यथास्थितिवादी पक्षले २०६२÷०६३ को जनआन्दोलनबाट हासिल राजनीतिक परिवर्तनलाई उल्टाउने प्रयास गरिरहेको बताएका छन् ।
‘परिवर्तनका पक्षपाती, परिवर्तनका लागि संघर्ष गर्ने नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित हुनुहुन्न, अर्को हस्ताक्षरकर्ता म जीवित छु । अहिले सबैभन्दा बढी घेराबन्दी संघीय लोकतान्त्रिक परिवर्तन ल्याउन भूमिका खेल्ने ममाथि धेरै ठूलो षड्यन्त्र भइरहेको छ । मैले गहिरोगरी महसुस गरिरहेको छु ।’