हेटौंडामा जारी गोल्डकपको आजको खेलमा बागमती युवा क्लब सर्लाही विजयी

हेटौंडा खबर
१ चैत्र २०७७, आईतवार २०:३८

हेटौंडामा जारी  स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको चौथो दिनको खेलमा बागमती युवा क्लब सर्लाही विजयी भएको छ ।

आइतबार हेटौंडा–१० फरेस्ट्री खेल मैदानमा भएको खेलमा बागमती युवा क्लबले २–१ गोल अन्तरले बिभागीय टोली एपीएफ क्लबलाई पराजित गरेको हो ।

बागमती युवा क्लबको तर्फबाट जर्सी नम्बर १६ का खेलाडी बिक्रम धिमाल र जर्सी नम्बर १७ का खेलाडी सागर साहीले समान एक–एक गोल गरेका थिए । यस्तै एपीएफ क्लबका जर्सी नम्बर १८ का खेलाडी रवि थिङले पेनाल्टीको सदुपयोग गरी एक गोल गरेका थिए ।

बागमती युवा क्लबका जर्सी नम्बर १६ का खेलाडी बिक्रम धिमाल प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए । कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछन, भने उप–विजेताले ५ लाख प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए ।

यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद हात पार्नेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५–२५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार पुरस्कारको व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले बताए ।

प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्रसहित ६ वटा ए डिभिजन क्लबहरुले सहभागिता जनाएका छन् । त्यस्तै एक विदेशी, एक आयोजक र दुई मोफसलका टोलीहरुले सहभागिता जनाएका छ्न । प्रतियोगिताको फाइनल खेल चैत ७ गते हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*