हेटौंडामा बेहोस भेटिएका एक व्यक्तिको मृत्यु

हेटौंडा खबर
२ चैत्र २०७७, सोमबार १०:१७

हेटौंडामा बेहोस अवस्थामा भेटिएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ७ः३० बजे मकवानपुरगढी गाउँपालिका वडा नम्बर–७ का वर्ष ४० का ज्ञानेन्द्र घिमिरे बेहोस अवस्थामा फेला परेका थिए । घिमिरेको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

घिमिरे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी)को गेट नजिक सडकपेटीमा बेहोस अवस्थामा भेटिएका थिए । स्थानीयले घिमिरेलाई बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार प्रहरीले घिमिरेलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो ।
अस्पतालका चिकित्सकले बिहान ८ बजे घिमिरेलाई मृत घोषणा गरेको प्रवक्ता रिमालले बताए । घटनास्थल र घटनाको प्रकृति हेर्दा शंकास्पद कुनै बस्तु नभेटिएको उनले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ । घिमिरेको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*