महेन्द्र राउतले थाले घरदैलो अभियान

हेटौंडा खबर
४ चैत्र २०७७, बुधबार १८:२५

मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दावी गरेका उद्योगी व्यवसायीका नेता महेन्द्र राउतले घरदैलोमा पुगी व्यवसायीको समस्या तथा राय/सुझाव संकलन गर्न थालेका छन्  ।

मउवा संघका पूर्व महासचिवसमेत रहेका राउतले आफ्ना समर्थकसहित बुधबारबाट व्यवसायीहरुको घरदैलोमा पुगेर उनीहरुको समस्या/गुनासो तथा राय/सुझाव संकलन गर्न थालेका हुन् ।

‘व्यवसायीको समस्या, गुनासो र राय सुझाव संकलन गरेर म केही दिनमा नै व्यवसायीको हकहित र प्रर्वद्धन हुनेगरी योजनासहितको घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छु । केही दिनमा नै आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा पनि गर्ने छु ।’ राउतले भने ।

प्राविधिक कारणले उम्मेदवारी घोषणा गर्न केही दिन ढिला भएको भएपनि आफु व्यवसायीको सुख दुःखमा व्यवसायीकै माझमा रहेको र अघिल्लो निर्वाचनको परिणाम आएपछि नै अहिलेको लागि तयारी थालिसकेकोले यसपटक व्यवसायीको साथ आफुलाई रहने उनले बताए ।

राउतले केही दिनमा नै आफ्नो चुनावी समूह पनि सार्वजनिक गर्ने बताएका छन् । राउत यसअघिको मउवा संघको निर्वाचनमा झिनो मतले पराजित भएका थिए ।

मउवा संघको ५४ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यतालिका क्रमश चैत २१ गते र २३ गतेको लागि तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*