मकवानपुर उद्योग बाणिज्य संघको ३ बर्षे कार्यकाल भ्रमण र अन्तरक्रियामै सकियो

हेटौंडा खबर
६ चैत्र २०७७, शुक्रबार २३:०२

मकवानपुर उद्योग बाणिज्य संघले आफ्नो ३ बर्षे कार्यकालको समिक्षा गरेको छ ।

आज हेटौंडामा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष कृष्ण कटुवालले समिक्षा सहित कार्य सम्पादनको विवरण जानकारी गराए । तर कटुवाल नेतृत्वको हालको कार्यसमितिको ३ बर्षे कार्यकाल भ्रमण र स्वागत कार्यक्रम गरेरै बितेको पाइएको छ ।

२०७४ सालमा निर्वाचित भएर बनेको कार्यसमितिले गरेका कार्य सम्पादन विवरण हेर्दा लाजमर्दो छ । सम्पूर्ण व्यवसायीको हितमा रहेको र परेका समस्यालाई निराकरण गर्नका लागि बनेको मकवानपुर उद्योग बाणिज्य संघले व्यवसायीका लागि भने सिन्को नभाचेको बर्तमान कार्यसमितिको कार्य सम्पादन विवरणले छर्लङ्गै पारेको छ ।

संघले २०७४ सालमा बिशेष गरी विभिन्न बिषयमा छलफल र अन्तरक्रिया मात्र गरेको विवरणमा प्रस्तुत गरेको छ । त्यस्तै २०७५ सालमा पनि विभिन्न भ्रमण,स्वागत,छलफल र पल्पसा सभागृहको भुमि पुजन कार्यक्रम गरेको गरेको जनाएको छ । विभिन्न बिबादै बिबादका बिच यहि साल संघले औधोगिक ब्यापार मेला गरेको थियो ।

०७६ मा पनि भ्रमण, छलफल गोष्टि लगायतमै संघ व्यस्त रह्यो । बर्षको अन्तिममा सुरुभएको कोरोना महामारी र त्यसपछि आम व्यवसायीमा परेको समस्या प्रतिपनि संघले महत्वपुर्ण भूमिका खेल्न सकेन । प्राकृतिक प्रकोपले क्षति पुर्याएको स्थानमा केहि राहत बाढने काम बाहेक मकवानपुर उद्योग बाणिज्य संघले कुनैपनि सम्झिन लायक काम गरेको पाइएन ।

३ बर्षे कार्यकालमा उद्योग बाणिज्य संघले हेटौंडा तथा जिल्ला भरका व्यवसायीको हितमा र परेका समस्या प्रति जिम्मेवार नबनेको कतिपय व्यवसायीको गुनासो छ ।

बिशेष गरी हेटौंडाको मुख्य सडक २५/२५ मिटर भत्काउने सम्बन्धमा पनि मकवानपुर उद्योग बाणिज्य संघ दोधारे कुरामा अड्किएर बस्यो । जसले गर्दा आम व्यवसायी रातको निन्द्रा न दिनको भोक भनि त्राही त्राही बनेर बस्नु पर्यो । त्यो समस्या अझै ज्युका तिउ छ । २ वर्ष अघिदेखिको समस्याका बारे यहाका व्यवसायी संग छलफल गरी कुनै विकल्प खोज्न नसक्दा मुख्य सडक छेउका व्यवसायीले आफ्नो व्यवसाय कतिबेला उठिबास हुन्छ भन्ने चिन्तामा बस्नु परेको अवस्था छ ।

अर्को तर्फ पार्किङको सवालमा पनि उद्योग बाणिज्य संघ बिबादमा तानियो । हेटौंडा उपमहानगरपालिकाले विभिन्न स्थानमा नो पार्किङ एरिया छुट्टाए पछी मउवा संघको नेतृत्वमा हेटौंडा बजार बन्द समेत गराईयो । तर यो बिषय पनि ज्युका तिउ छ । बेला बेला उपमहानगर र संघ बीच जुहारी चल्छ र त्यसै रोकिन्छ ।

यी त केहि उदाहरण मात्र हुन् अझै व्यवसायीका सस्थागत गुनासा समस्या कति छन् कति । बैंक तथा वित्तीय, घरभाडा,लकडाउनले पारेको थप समस्या, प्रसाशन त सरकारको तर्फबाट हुनुपर्ने तर नभएका विभिन्न समस्याहरुको थुप्रै चाङ्ग जस्ताको त्यस्तै छ । तर मकवानपुर उद्योग बाणिज्य संघका पदाधिकारीको लागि भने सस्था राजनीति गर्ने र कमाइ खाने भाडोको रुपमा मात्र प्रयोग भएको व्यवसायी स्वयम् बताउछन् ।

शुक्रबार भएको समिक्षात्मक कार्यक्रममा संघले मकवानपुरका सम्पूर्ण व्यवसायीलाई समेट्न नसकेको, व्यवसायीको गुनासो सम्बोधन नगरेको लगायतका बिषयमा आवाज उठेको थियो । कार्यक्रममा संचारकर्मीको प्रश्नको जवाफ दिदै वर्तमान अध्यक्ष कृष्ण कटुवालले आफ्नो कार्यकालमा केहि उपलब्धिमुलक काम भएको र केहि कामहरु गर्न नसकेको बताए ।

जे होस् यहिँ चैतमा पुन अर्को ३ बर्षे कार्यकालको लागि मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचन हुदैछ । त्यसमा ३ जना अध्यक्षको लागि  हानाथाप चलिरहेको छ । तर यसपाली चुनुने नेतृत्व पनि व्यवसायीहरुको लागि ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्ने उखान जस्तो नबनोस् ।

यसमा तपाइको मत

Your email address will not be published.


*