हेटौंडाका बिद्यालय र ट्युसन सेन्टर बैशाख मसान्तसम्मको लागि बन्द

हेटौंडा खबर
७ बैशाख २०७८, मंगलवार १८:४४

हेटौंडाका सम्पूर्ण बिद्यालय तथा अन्य शैक्षिक संस्था (कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) समेत भोलिदेखि पूर्णरुपमा बन्द हुने भएका छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार हेटौडा उपमहानगरपालिकामा रहेका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) बैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्नेछ ।

हेटौडा उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहहरूले जोखिमको आँकलन गरी आफ्नो स्थानीय तह अन्तर्गतका विद्यालयहरूमा जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गराई पठनपाठन गराउन पाइनेछ ।

त्यस्तै बिद्यालय बन्द भएपनि बिद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी तोकिएको समयमा सञ्चालन गर्ने र सो को जानकारी शिक्षा विकास तथा समन्वय इकाई मार्फत जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, मकवानपुरलाई दिनुपर्ने निर्णय भएको छ ।

साथै बैठकले जिल्लाभित्र रहेका सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्पा, स्विमिंग पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शक सहितको खेलकूद र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमपनि बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

ब्युटिपार्लर र सैलुनहरूको हकमा पिपिई, मास्क र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य बनाउने र एक पटकमा एक जनालाई मात्र सेवा प्रदान गर्ने गरी संचालन गर्न पाईने भएको छ । यस्तै जिल्लाभित्रका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सम्वत् बैशाख मसान्त सम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने भनि निर्णय भएको छ ।

त्यस्तै मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा पच्चीस जना भन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र सञ्चालन गर्नुपर्ने बताइएको छ ।

विवाह वा ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई पच्चीस जना नबढ्ने गरी कार्यक्रम गर्नुपर्ने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*