उत्सब चौलागाईंको कविता : ओइ! कोरोना

-उत्सब चौलागाईं
१५ बैशाख २०७८, बुधबार ०८:१२

 

              ओइ! कोरोना

ओइ! कोरोना
तिमी फूल बनेर आएको भए
कयौं प्रेमिकाहरूको नरम हत्केलामा हुन्थ्यौ ।
तिमी कम्तिमा काँडा मात्र बनेर आएको भएपनि
प्रेमिल इतिहासको नामहरू लेख्न
कयौँ  प्रेमीहरूको पाखुरीमा कुँदिरहेका हुन्थ्यौ ।
भाइरस बनेर आयौ, भयङ्कर डर बनेर आयौ ।
सन्सारलाई त्रसित बनायौ ।
तिम्रो डरले मान्छे मान्छे बिचको दुरी बढेको छ ।
डेटिङ स्पर्टहरू खाली भएका छन् ।
झुपडीहरू मौन देखिन्छन्  महलहरू भयभीत छन् ।
मेरो देशको सिंहदरबार पनि,स्यालदरबार जस्तै भएको छ ।
तिमीलाई अझै नपुगेको के हो ?
राजाहरूदेखि प्रजासम्म फैलियौ, विस्तारवादीहरूलाई छाडेनौ ।
साम्राज्यवादीहरूलाई छाडेनौ ।
भुइँमा आयौ, आकाशमा आयौ ।
कम्युनिस्ट भनेनौ, कांग्रेस भनेनौ, कमाउनिष्ट भनेनौ, प्रतिक्रियावादी भनेनौ
तिम्रो आतङ्कले कोही भनेन ।
सन्नाटा छाएको छ धेरैले आफ्ना अनमोल रत्नहरू गुमाएका छन् ।
तिम्रो साम्राज्यको सिकार भएका छन् बृद्धबृद्धाहरू बालबालिकाहरू
त्यसैले ओइ ! कोरोना
तिम्रो उदण्डता देखेर सिङ्गो विश्वलाई उदेक लागेको छ ।
मायालु मनहरूमा त्रासको पर्खाल लागेको छ ।
मानव हृदय रोग, भोक र शोकले विक्षिप्त बनेको छ ।
समृद्धिका पानाहरू च्यातिने डर अनि गरिबी र बेरोजगारीले जरो गाढ्ने भय देखिन्छ ।
सडक बन्द छ, मन्दिर ,मस्जिद अनि गुम्बा सबै बन्द छन् ।
सबैलाई घरभित्र थुनेर तिमी बाहिर डुलिहिडिरहेछौ राक्षसी रुपमा ।
दानवी भेषमा ।

यसमा तपाइको मत

Your email address will not be published.


*