सक्रिय संक्रमित ५०० नाघे, हेटौंडामा भोलिदेखि मिनी लकडाउन

हेटौंडा खबर
१७ बैशाख २०७८, शुक्रबार १८:२७

मकवानपुरमा कोरोनाका सक्रिय संक्रमित ५०० नाघेका छन् । शुक्रबार हेटौंडा अस्पतालमा रहेको पिसिआर ल्याबमा गरिएको १८१ जनाको परिक्षण गर्दा ११७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य कार्यालयको दिउसो २ बजेसम्मको डाटा अनुसार आज बिहान ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । साझ ५ बजेसम्ममा १८१ जनाको स्वाब परिक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

आजैको विवरण हेर्दा जिल्लामा ५ बजेसम्मको पिसिआर परिक्षणमा मात्र १७४ जनालाई कोरोना पुष्टि भएको छ ।

आज दिउसो २ बजेसम्म जिल्लामा सक्रिय संक्रमित ३९६ थिए भने हाल बढेर ५१३ जना पुगेका छन् ।

उता जिल्ला प्रशासन कार्यालय मकवानपुरले भोलि शनिबारबाट हेटौंडा उपमहानगरपालिका मिनी लकडाउन गरेको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले कोभिड १९ संक्रमण फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै शनिबार देखि लागू हुने गरी हेटौडा उपमहानगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण होटल, लज, रेष्टुरेन्ट, मिठाई पसल तथा चिया पसलहरू बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले हेटौडाका सम्पूर्ण निजी अस्पतालहरूले आआफ्नो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने र आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू आलोपालो उपलब्ध गराउनु पर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी हेटौडा बजार क्षेत्रमा मानिसहरूको भिडभाडलाई नियन्त्रण एवं व्यवस्थापन गर्न व्यवसायको दिन तोकेर आलोपालो प्रणाली लागू गराउन मकवानपुर उद्योग वाणिज्य संघले व्यवस्थापन गर्ने गराउने गरी निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*