हार्ने चुनाव उठ्दिन भन्ने ‘बादल’ हेटौंडा आएर भने- मेरो जित सुनिश्चित छ (भिडिओ)

हेटौंडा खबर
२४ बैशाख २०७८, शुक्रबार २०:२५

राष्ट्रिय सभाको जेठ ६ गते हुने उपचुनावका लागि नेकपा एमालेकै दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

नेकपा एमालेको संस्थापन पक्षका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा एमालेकै नेपाल खनाल समूहका तर्फबाट डाक्टर खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

देवकोटालाई कांग्रेस माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षको समर्थन छ । हिजोसम्म हार्ने चुनाव उठ्दिँन भन्दै आएका गृहमन्त्री थापा आज बिहान बसेको नेकपा एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठकपछि उम्मेद्वार बन्न तयार भएका हुन् ।

एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल, प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहाल सहितको टोलीलाई लिएर सिम्रिक एयरको हेलिकप्टरमार्फत हेटौंडा आएर थापाले उम्मेद्वारी दर्ता गराएका हुन् ।

उम्मेद्वारी दर्ता पछी संचारकर्मी संग प्रतिक्रिया दिदैं उनले नेकपा एमालेको ५ हजार १ सय ३० मतभार रहेको र त्यो सबै मत आफूलाई आउने भएकाले आफूले जित्ने दावी गरे । थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत हुन् ।

गृहमन्त्री थापालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेसँगै रिक्त राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो ।

यो उपचुनावमा गृहमन्त्री थापाको प्रतिस्पर्धीमा एमालेको नेपाल खनाल समूहका डाक्टर खिमलाल देवकोटा छन् । हिजो नै बागमती प्रदेशका राजधानी हेटौडा आएका देवकोटाले आज सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराए ।

देवकोटालाई एमालेको नेपाल समूहसहित, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालको उपेन्द्र यादव पक्षको समर्थन छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बारम्बार संविधान उल्लंघन भइरहेकाले आफू संविधान रक्षाका लागि उम्मेद्वार बनेको देवकोटाले धारणा राखे ।

देवकोटाको मनोनयनका लागि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, माओवादी नेता शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी लगायतका नेताहरु निर्वाचन कार्यालय पुगेका थिए ।

देवकोटाको प्रस्तावकमा शालिकराम जमकट्टेल र समर्थकमा राधा घले रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*