हेटौंडा अस्पतालमा दैनिक १०० बढी अक्सिजन सिलिन्डर खपत, स्टक शुन्य

मन्त्रालय भन्छ, प्लान्ट निर्माणको गृहकार्यमा छौं
हेटौंडा खबर
२५ बैशाख २०७८, शनिबार ०८:४३

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान  हेटौंडा अस्पतालमा दैनिक १०० बढी अक्सिजनका सिलिन्डर खपत हुने गरेको छ ।

जिल्लामा कोरोना संक्रमित दर बढ्दै जाँदा र अस्पतालमा संक्रमितको संख्या ह्वात्तै वृद्धि भएपछी दैनिक एकसयको हाराहारीमा ठुला सिलिन्डर सकिने गरेको अस्पतालमा कोभिड-१९ इन्चार्ज डाक्टर सागर काफ्लेले बताए ।

‘दैनिक १० देखि १५ वटा सिलिन्डरले पुग्थ्यो तर अस्पतालमा आइसीयु र एचडियुमा रहेका कोरोना संक्रमित सबैलाई अक्सिजन दिएर राख्नु परेको छ’,  त्यसैले बढी बढी चाहिएको हो उनले भने ।

अस्पतालमा दैनिक कोरोना संक्रमित थपिदै गैरहेका छन् भने अस्पतालमा बनाइएका आइसीयु र एचडियु कक्ष लगभग भरिने अवस्थामा रहेका छन् । तर अक्सिजनको भने स्टक शुन्य रहेको पाइएको छ ।

केहिदिन अघिसम्म जिल्लामा पर्याप्त मात्रामा अक्सिजन छ भनिएता पनि अस्पतालका लागि स्टकमा एउटापनि सिलिन्डर नरहेको बुझिएको छ ।

अक्सिजन सकिएपछी रातारात जिल्ला प्रहरी कार्यालयको सहयोगमा गएराती बाराको परवानीपुरबाट केहि सिलिन्डरहरु ल्याइएको छ  । यसले अस्पतालमा अक्सिजन अपुग रहेको संकेत गरेको छ ।

‘राति बाराबाट केहि सिलिन्डर नल्याएको भए आजलाई अप्ठेरो पर्थ्यो हाललाई काम चल्यो’, डाक्टर काफ्लेले भने ।

हाल हेटौंडा अस्पतालको १७ बेडको आइसियुमा ११ जना उपचाररत छन् २० बेडको एचडियुमा १८ जना कोरोना संक्रमित उपचाररत छन् भने १४ बेडको स्टेप डाउन वार्डमा ७ जना रहेका छन् । यी बिरामी मध्य वार्ड बाहेकका सबैलाई अक्सिजनको साहारा दिएर उपचार गराइरहनु परेको छ ।

तर अस्पतालमै अक्सिजनको अभाव हुने संकेत देखिदा प्रशासनको भने तयारी शुन्य देखिएको छ ।

‘गाउँपालिकाहरुमा पनि अक्सिजनको सिलिन्डर जान थालेपछि यहाँ अलि अपुग जस्तो देखिएको हो, म्यानेज भैरहेको छ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल संचालक समिति सदस्य उत्सब चौलागाईंले भने । ‘अस्पतालमै अक्तिजन प्लान्ट स्थापना गर्ने भनि प्रक्रिया पनि अघि बढिसकेको छ, केहिसमय पछी यो समस्या हल हुन्छ’, उनले टेलिफोन कुराकानीमा भने ।

उता बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता डाक्टर पुरुषोत्तम सेडाईले भने आवश्यकता परेको खण्डमा आफुहरु संग अन्य सिलिन्डर पनि रहेको र अन्य जिल्लाबाट भएपनि मोभिलाइज गर्ने बताउछन्  । हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताए ।

‘प्लान्ट स्थापनाको लागि खरिद प्रक्रिया पनि अघि बढेको छ, आइतबार भोलि नै टेन्डर प्रक्रिया सुरुगर्ने तयारी छ, अब चाडैनै काम सुरु हुन्छ’, उनले भने ।

प्लान्ट स्थापना गर्ने तयारी त यकातिर हुन्छ नै, अस्पतालमै अक्सिजनको अभाव भयो भने अर्को ठुलो समस्या उब्जिन्छ । त्यसैले बेलैमा यसतर्फ सम्बन्धित सबैले ध्यान दिनु जरुरी छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*