हेटौंडामा निषेधाज्ञा थप कडा पारियो, बैंक हप्ताको २ दिन ४ घण्टामात्र खुल्ने

हेटौंडा खबर
३० बैशाख २०७८, बिहीबार १८:५२

मकवानपुरमा निषेधाज्ञा अवधि लम्ब्याइएको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १३ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको समय थप गरेको हो ।

आजको बैठकले हेटौंडामा निषेधाज्ञा थप कडा बनाएको छ । हेटौडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र उत्तरमा चौकीटोल, दक्षिणमा कर्रा पुल, पश्चिममा थाना भर्याङ र पूर्वमा क्याम्पा डाँडाभित्र औषधी र अक्सिजन सिलिण्डर विकी वितरण गर्ने पसल बाहेक अन्य अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसलहरू हप्तामा मंगलबार र शुक्रबार मात्र विहान ५:०० बजेदेखि विहान ८:०० बजेसम्म खोल्न पाइने निर्णय गरेको छ ।

त्यस्तै खोपेगल्लीस्थित रहेको तरकारी तथा फलफूल पसल, बसपार्कस्थित खुद्रा तरकारी बजार र माछामासु पसल खोल्न नपाइने भएको छ ।

त्यस्तै बैंकबाट प्रदान गरिने सेवाहरू जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी एक चौथाई कर्मचारीहरूबाट मात्र हप्तामा मंगलबार र शुक्रबार २ दिन विहान ९:०० बजेदेखि दिनको १:०० बजेसम्म मात्र सञ्चालन गर्ने र अन्य वित्तिय संस्था, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तिय सहकारी संस्थाहरू पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको छ ।

त्यस्तै मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा अनिवार्य बन्द गर्ने, विवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्पन्न गर्नुपर्ने, विवाहका लागि जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँ वा अन्तर जिल्ला जानुपर्ने भएमा एक सवारी साधनमा ७ (सात) जनासम्म मात्र सवार गर्नुपर्ने निर्णय भएको छ ।

त्यस्तै औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी, गराई सम्बन्धित उद्योग प्रतिष्ठानमा कार्यरत मजदूर कर्मचारीहरूसँग समन्वय गरी उद्योग परिसरभित्रै वा निश्चित स्थानमा राखी बाहिर आवत जावत नहुने सुनिश्चितता गरी उद्योग सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*