हेटौंडा अस्पतालको प्रांगणमा ‘हेल्प डेक्स’, समस्या परे २४ सै घण्टा फोन गर्न सकिने

हेटौंडा खबर
३ जेष्ठ २०७८, सोमबार १९:२४

हेटौंडा अस्पतालको प्रांगणमा ‘हेल्प डेक्स’ स्थापना गरिएको छ ।

कोरोना संक्रमणको माहामारीका बेला बिरामी र बिरामीको आफन्तलाई सहयोग र सहजीकरण गर्नका लागि हेटौंडाका स्वतन्त्र युवाहरुले हस्पताल छेउमा ‘हेल्प डेक्स’ स्थापना गरेका हुन् ।

बढ्दै गएको संक्रमण र त्यसले निम्त्याउने विभिन्न समस्याको समाधानमा सहयोगी भूमिका निभाउनको लागि सामाजिक संजाल फेसबुकमा ‘कोभिड हेल्प डेस्क टिम’ गठन गरी अस्पतालमा ‘सहायता कक्ष’ बनाइएको यस कार्यका अभियान्ता रामकृष्ण शिवाकोटीले बताए ।

यस सहायता कक्षको काम कोभिड सम्बन्धि विभिन्न जानकारी , सहयोग तथा सम्बन्धित निकायसंगको समन्वयमा कोरोना संक्रमितलाई अत्यावस्यक परेको सामग्रीको उपलब्ध गराउने रहेको शिवाकोटीले बताए ।

कोरोना संक्रमणका कारण अस्पताल आउन या अस्पताल आएपछि केहि समस्या परे , अथवा घरमै अक्सिजनको अभावमा वा अन्य समस्या परेको छ भने ‘हेल्प डेक्स’मा सम्पर्क गर्न सकिने बताइएको छ ।

कोही व्यक्ति संग अक्सिजन सिलिन्डरहरु छ भने निशुल्क भरेर उपलब्ध गराउने , रगत र अक्सिजनको अभावमा उपचार नपाएका बिरामीलाई रगत र अक्सिजन उपलब्ध गराउन सहयोग गर्ने, हेटौंडा अस्पताल आएका बिरामीलाई सहयोग गर्नुका साथै हेटौंडा अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई समेत सहयोग गर्ने काम गरिने ‘हेल्प डेक्स’का प्रविन मैनालीले बताए ।

हेटौंडामा कसैलाई समस्या परे ‘हेल्प डेक्स’मा सम्पर्क राख्न समेत आग्रह गरिएको छ । सहयोगका लागि २४ सै घण्टा फोन गर्न सकिने भन्दै फोन नम्बरहरु सार्वजनिक गरिएको छ ।

‘हेल्प डेक्स’को सहयोग चाहिएमा ९८४४२६९७७१, ९८२१८३५७७९, ९८५५०६८९२७, ९८५५०६८६५८, ९८५५०६८२७७, ९८५५०६७०३३ र ९८५५०१२२२७ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

हेटौंडामा विभिन्न क्षेत्रमा आवद्ध युवाले आफ्नै खर्चमा सहायता कक्ष संचालन गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*