हेटौंडा आउदै गरेको ट्रकमा प्रहरीले फेला पार्यो १ क्विन्टल गाँजा

हेटौंडा खबर
४ जेष्ठ २०७८, मंगलवार १८:४७

हेटौंडाबाट १ क्विन्टल गाँजासहित ३ जना पक्राउ परेका छन् ।

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको नामटार तर्फबाट हेटौंडा आउदै गरेको ना २ ख ९८६२ नं. को ट्रकबाट १ सय केजी लागू औषधसहित ३ जनालाई पक्राऊ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले  हेटौंडा स्थित सडकमा चेकजाँचको क्रममा उक्त ट्रक चेकजांच गर्ने क्रममा फल्स बटम बनाई लुकाई ल्याएको १७ वटा पोकामा रहेको लागूऔषध गाँजा १ क्विन्टल फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले लागूऔषध गाँजासहित ट्रक चालक काभ्रे, महाभारत–५ का ४९ बर्षीय आईतेबहादुर ठाडामगर, गाँजा ओसारपसारमा संलग्न मकवानपुर भीमफेदी–९ का ४१ बर्षीय राजकुमार तामाङ र मकवानपुर कैलाश–१० का ३६ बर्षीयसुविन रुम्बा पक्राऊ गरेको जनाएको छ ।

पक्राऊ परेका उपर लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम कार्वाही प्रकृया अघि बढाईएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*