राष्ट्रियसभा सदस्यका लागि हेटौंडामा मतदान जारी 

हेटौंडा खबर
६ जेष्ठ २०७८, बिहीबार १०:३४

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन हेटौंडामा सुरु भएको छ ।

विहीबार हेटौंडा उपमहानगर वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा ९ बजेदेखि मतदान सुरु भएको हो । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलले सुरुमा मत हालेर फर्केका थिए  । हाल प्रदेश सभाका सदस्य, गाउँ/नगरपालिकाका प्रमुख/उपप्रमुखले मतदान गरिरहेका छन् ।

मतदान गर्न विद्यालयको उत्तरी गेटमा कोरोना पोजेटिभ मतदातालाई छुट्टै बुथ बनाइएको छ भने पश्चिम पट्टिको गेटबाट अन्य मतदातालाई प्रवेश गराइएको छ । भोट खसाल्न तीनवटा बुथको व्यवस्था गरिएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्नेछन् । यस्तै कोरोनाभाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि ‘ग’ बुथको व्यवस्था गरिएको छ ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८  मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।

बागमती प्रदेशसभा सदस्य ११० जना मध्ये एक सदस्यको मृत्यु भएको छ ।

मतदान दिउँसो ३ बजे सम्म हुनेछ भने उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको  छ । प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा  भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो  ।

मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ  । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । बेलुकासम्ममा नतिजा आइसक्ने निर्वाचन अधिकृत प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*