फेरी लम्बियो हेटौंडामा निषेधाज्ञा, किराना र तरकारी पसल खुल्ने

हेटौंडा खबर
१९ जेष्ठ २०७८, बुधबार १७:१६

मकवानपुरमा जारी निषेधाज्ञा केही खुकुलो बनाई जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन समितिको बैठकले जेठ ३१ सम्म निषेधज्ञा थप्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो ।

यसअघि जेठ २० गते रातिसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । यस अघि हेटौंडामा किराना पसल र तरकारी बजारसमेत बन्द गरिएकोमा केही खुकुलो बनाउदै प्रशासनले तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्नलगायतका सामग्री बिक्री वितरण गर्ने पसल बिहान ४ बजे देखि ८ बजेसम्म सञ्चालन गर्ने दिने निर्णय गरेको छ ।

तर हेटौंडा ४ स्थी खोपे गल्लीको तरकारी बजार र हेटौंडा १० स्थित बसपार्कको तरकारी मण्डी पूर्ण रुपमा बन्द नै रहने प्रशासनले जनाएको छ ।

यस्तै बैठकले बैंक तथा मनी ट्रान्सफरहरु आइतबार, मंगलबार र विहीबार बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न पाइने र अन्य वित्तीय कारोवार गर्ने संघ संस्था तथा सहकारीहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन, विद्युत्, पशुपञ्छीको दाना, कृषि उपज, बिउबिजन, रासायनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधनहरु पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यस्तै कामदार कर्मचारीलाई उद्योग परिसरमै आवासीय व्यवस्था मिलाएर वा घरबाटै लाने लैजाने व्यवस्था गरेर उद्योग सञ्चालन सक्ने बैठकले निर्णय गरेको छ । मकवानपुरमा कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा गत बैशाख १९ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*