हेटौंडामा आज पनि समातियो १ सय ४३ किलो गाँजा

हेटौंडा खबर
३ असार २०७८, बिहीबार २२:२४

मकवानपुर प्रहरीले १ सय ४३ किलो गाँजा सहित हेटौंडाबाट ३ जनालाई पक्राउ गरेको छ ।

विहीबार विहान विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको प्रहरी टोलीले मनहरी तर्फबाट हेटौडा तर्फ आईरहेको ना.१ ख ९९१० नम्बरको कन्टेनर गाडी सहित तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

हेटौंडा उपमहानगरपालिका ११ थानाभ¥याङ स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा उक्त गाडीलाई चेकजाँच गर्दा कन्टेनर गाडीको केविन भित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा लागुऔषध गाँजा १४३ किलो ३०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता जयश्वर रिमालले बताए ।

प्रहरीले गाडी चालक सिन्धुपाल्चोकको बार्हबिसे नगरपालिका वडा नं. ५ सिगार्से बस्ने २८ वर्षका सनक बहादुर तामाङ, सह–चालक बार्हबिसे नगरपालिका वडा नं. ८ मानेश्वारा बस्ने २४ वर्षका सोमे तामाङ र सोही गाडीमा सवार जिल्ला मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ गल्छराङ बस्ने १८ वर्षका सविन तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हिजो बुधबार प्रहरीले हेटौंडाबाटै ९६ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*