बागमती प्रदेशमा ‘इन्द्र’ र ‘राजेन्द्र’ आलोपालो मुख्यमन्त्री

हेटौंडा खबर
४ कार्तिक २०७८, बिहीबार २१:०७

बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने सहमति भएको छ

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि प्रदेशमा गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गर्ने निश्चित भएको हो । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूचि बनेको भएपनि बैठक कार्तिक १० गते सम्मको लागि स्थगित भएको छ ।

मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । अब शाक्यको पद १० गते सम्मको लागि लम्बिएको छ ।

यता मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित छ । प्रदेशसभा सचिवालयले आजै मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने जानकारी दिएको भएपनि नेकपा एमालेले आजको बैठक छलफलमा मात्रै सिमित गर्न सभामुख सानुकुमार श्रेष्ठसमक्ष गरेकाले आजको बैठकमा उक्त प्रक्रिया अघि नबढेको स्रोतले बताएको छ ।

आज बसेको बैठकका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत प्राप्त गर्नको लागि एमाले नेतृत्वको सरकारले करिब साँढे ३ बर्षको कार्यकालमा गरेको कामको समिक्षा गरिन् । उनले एमालेको नेतृत्वमा जनहितकालागि प्रभावकारी काम भएकोसमेत बताइन् ।

प्रदेशमा ६ सय ४० पक्की सडकको बहुबर्षीय ठेक्का सम्झौता भएको, प्रदेशका १३ वटै जिल्लाहरुमा खानेपानीको पहुँच विस्तार गरिएको, राजधानीमा अवस्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य हबको रुपमा विकास गर्ने गरी काम भइरहेको, कृषि क्षेत्रको विकासका लागि कृषकहरुलाई मल, बीउबीजन उपलब्ध गराउने कार्य गरिएको, युवा र खेलकुद कार्यक्रम लक्षित गरी ९१ वटा खेल संचालन गर्ने गरी तयारी गरिएको, शैक्षिक गुणस्तर विस्तारको लागि पहल भएको, उद्योग कलकारखानाको संरक्षण तथा विस्तारमा पहल भएको भन्दै उनले सरकार सफल रहेको जिकिर गरिन् ।

उता नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले एमाले नेतृत्वको सरकारले भ्रमको खेती गरेको आरोप लगाए । नेता बानियाँले वर्तमान सरकारले करिब साढे ३ बर्षे कार्यकालमा गरिब जनताको लागि खाना, नाना र छानाको नारा भजाएर व्यक्तिगत स्वार्थका लागि मात्रै काम गरेको बताए ।

यता नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराज जम्कट्टेलले नेकपा एमालेले दम्भ र अहंकार मात्रै प्रदर्शन गरेकोले त्यसलाई सर्वोच्च अदालतले गलहत्याएर निकालेको टिप्पणी गरे । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता जम्कट्टेलले सत्ताधारी एमालेले आफुहरुमात्रै जनमत प्राप्त दल भएको भन्दै अहंकार प्रदर्शन गर्नु गलत भएको बताए ।

उनले भने ‘ एमालेमा केपी ओली प्रवृत्ति हावी भएको छ । जसरी हुन्छ हेप्ने, चेप्ने, सकेसम्म यो व्यवस्था र संविधान ध्वस्त पार्न खोज्ने, संसद् र संविधानमाथि नै आक्रमण गर्ने अनि संयुक्त गठबन्धनबाट बनेको प्रधानमन्त्रीलाई परमादेशको सरकार भन्ने, यो उहाँको कस्तो राजनीतिक संस्कार हो ?’ ‘एमालेले पाएको चाँही जनमत, अनि हामीले पाएको चाँही सालको पात हो त ? उहाँले मात्रै जनमत पाएको भए, किन छाडेको त सरकार?, पुर्याउनुस् न त बहुमत’ उनले थपे ।

जनमतकै आधारमा सर्वोच्च अदालतबाट परमादेश जारी भएको बताउँदै उनले संयुक्त गठबन्धन संविधान र लोकतन्त्रको रक्षाको लागि निर्माण भएको दावी गरे ।उनले मुख्यमन्त्री शाक्यलाई आफुहरुले विश्वासको मत नदिने बताए । उनले भने, हामीले उहाँलाई विश्वासको मत दिनुपथ्र्यो, तर उहाँ प्रतिगमनको पक्षमा उभिनुभएको छ । त्यसकारण दुःखका साथ भन्नुपर्छ उहाँलाई हामीले विश्वासको मत दिन सक्दैनौँ, उनले भने ।

उनले मुख्यमन्त्री शाक्यलाई पनि राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरे ।

बागमतीमा अब मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बन्ने भएका हुन्। त्यसपछि नेपाली काँग्रेसका प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ बागमतीको मुख्यमन्त्री बन्ने छन्।

बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । कूल ५६ सांसद रहेकोमा १३ सांसद एकीकृत समाजवादीमा गएसंगै एमाले ४३ सांसदमा खुम्चिन पुगेको छ ।

प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसद छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*