बागमतीमा एमालेको सरकार ढल्यो, अबको मुख्यमन्त्री राजेन्द्र पाण्डे

हेटौंडा खबर
१० कार्तिक २०७८, बुधबार १८:२७

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन्। यो सँगै बागमती प्रदेशमा नेकपा एमालेको सरकार ढलेको छ।आजको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिएकी हुन्। उनले आफ्नो छोटो कार्यकालमा गरेका कामको बारेमासमेत सम्बोधनका क्रममा ब्याख्या गरिन् । सो क्रममा आफूलाइ सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिईन्। शाक्यले प्रदेशसभामा ४ कार्तिकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै मत विभाजन हुने कार्यसूची थियो । तर मतदान प्रक्रियामा नगइ उनले राजीनामा दिएकी हुन्। विपक्षी गठबन्धनमा बहुमत भएसँगै एमाले सरकार बागमती प्रदेशमा ढलेको हो । शाक्यको राजीनामासँगै बागमती प्रदेशमा बाँकी रहेको कार्यकाल पहिलो आधा समय नेकपा एकीकृत समाजवादी र त्यसपछि नेपाली कांग्रेसले सम्हाल्ने सहमति भएको छ। त्यस्तै प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागी नेकपा एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र पाण्डेले दाबी पेस गरेका छन् ।चार दलीय गठबन्धनको नेतृत्व गर्दै पाण्डेले बुधवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । शाक्यको राजीनामा पछि प्रदेश प्रमुख शर्माले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेका थिए ।
बागमती प्रदेशसभामा हाल एमालेका ४३ सांसद छन्। गठबन्धनमा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एसका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन्।गठबन्धन बाहेकका विवेकशील साझा पार्टीका ३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ((राप्रपा) का २ जना सांसद छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*