बागमतीमा आज नयाँ मुख्यमन्त्री, को-को बन्दैछन् मन्त्री ? 

हेटौंडा खबर
११ कार्तिक २०७८, बिहीबार ११:२४

बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री चुनिने भएको छ हिजोको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट एमालेकी अष्टलक्ष्मी शाक्यले राजिनामा दिएपछि आज नयाँ मुख्यमन्त्री सहित नयाँ मन्त्रिमण्डल विस्तार हुदैछ

आज दिउसो ३ बजे प्रदेश प्रमुखको कार्यालयमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको बताईएको छ । पाण्डेको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीतिक दलले समर्थनसहित हिजै हस्ताक्षर गरी दाबी पत्र बुझाइएको थियो ।

आज दिउसो मुख्यमन्त्री र ३ मन्त्रिहरुको सपथग्रहण कार्यक्रम रहेको नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले हाम्रकुरालाई जानकारी दिए ।उनका अनुसार गठबन्धनका तर्फबाट दलका उप नेतालाई मन्त्रीको जिम्मेवारी दिन लागिएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट दलकी उप–नेता कुमारी मोक्तान, कांग्रेसका उप–नेता कृष्णलाल भडेल र नेकपा एकीकृत समाजवादीका उप–नेता कृष्ण खनाललाई जिम्मेवारी दिने कुरा भएको उनले बताए ।

कसलाई कुन मन्त्रालय भन्ने बारे भने सपथग्रहण हुनेबेलामा मात्र भन्ने सहमति भएको बताउदै उनले भने, ‘माओवादीले आर्थिक मामिला, काँग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउछन् कि’ ।

बागमतीमा नेकपा माओवादी केन्द्र दोस्रो पटक सरकारमा जाँदैछ । पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी माओवादीको भागमा परेको थियो । राजेन्द्र पाण्डेको नेतृत्वमा भने कुमारी मोक्तानले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।

यता, कांग्रेस भने पहिलो पटक बागमती प्रदेशको सरकारमा सरकारमा जाँदैछ । भक्तपुरबाट निर्वाचित सांसद एवम् कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइने तयारी रहेको स्रोतले बताएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीकै चितवनबाट निर्वाचित सांसद कृष्ण खनाल पनि आज मन्त्री नियुक्त हुँदैछन् । अष्टलक्ष्मी शाक्यको नेतृत्वमा एमालेबाट सामाजिक विकासमन्त्री नियुक्त भएका खनालले केही दिनमा नै राजीनामा दिई नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनलाई पुनः सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*