प्रयोग मै नल्याई भत्काउन थालियो हेटौंडाको बासुदेव सभागृह

हेटौंडा खबर
२ पुष २०७८, शुक्रबार २०:०९

हेटौंडाको बासुदेव सभागृह भत्काउन थालिएको छ । निर्माण गरेर प्रयोगमै नल्याई सभागृह भत्काउन थालिएको हो ।

हेटौंडा उपमहानगरपालिकाले बहुआयामिक स्रोतको रुपमा प्रयोग गर्ने योजना अनुसार सभागृह निर्माण गरेको थियो । विसं २०६० सालमा तत्कालिन हेटौंडा नगरपालिकाले हुप्रचौरमा निर्माण गरेको यो भवनको नाम ज्ञानेन्द्र सभागृह राखेर निर्माण कार्यको थालनी गरिएको थियो ।

२०६२/६३ सालको जनआन्दोलन पछि सो सभागृहलाई बासुदेव सभागृह नामाकरण गरिएको हो । जनआन्दोलनका समयमा मकवानपुरको आमभञ्ज्याङ घर भएका बासुदेव घिमिरे काठमाडौंमा सहिद भएका थिए । उनकै सम्झनामा सो सभागृहलाई बासुदेव सभागृह नामाकरण गरिएको थियो ।

हेटौंडा नगरपालिकाका तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा निर्माण शुरु गरिएको उक्त सभागृह निर्माणाधीन अवस्थामै थियो । त्यसबेला विभिन्न कार्यक्रम वा सभासम्मेलन गर्नका लागि सभाहलको आवश्यकता महसुश भएपछि अधिकारीकै पहलमा स्थानीय विकास मन्त्रालय र नगरपालिकाको संयुक्त २ करोड ५० लाख लागतमा सभागृह निर्माण सुरु गरिएको थियो ।

२०६२-६३ सालमा भएको जनआन्दोलन पछि देशमा राजतन्त्रको अन्त्य भयो । त्यसपछि सभागृहको स्वामित्व हेटौंडा नगरपालिकाको स्वामित्वमा रह्यो । २०६२-६३ को राजनीतिक परिवर्तनपछि सो सभागृहको निर्माणमा कसैको चासो देखिएन ।

त्यसको करिव १० वर्षपछि देश संघीयतामा गयो । २०७४ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । हेटौंडा नगरपालिका उपमहानगरपालिकामा परिणत भयो । हेटौंडा उपमहानगरपालिकामा एमालेका हरिबहादुर महत निर्वाचित भए ।

महतको कार्यकालमा पनि त्यसलाई पूर्णता दिनेतर्फ चासो देखाएन । फलस्वरुप निर्माण प्रारम्भ भएको १८ बर्ष बितिसक्दा पनि सभागृह प्रयोगमा आउन सकेन । सभागृह दिनप्रतिदिन खण्डहर बन्दै गयो ।

बेबारिसे अवस्थामा रहेको उक्त सभागृहको संरक्षण गर्ने नारा लिएर चुनाव जितेका मेयर महतले ४ बर्षसम्म त्यसको संरक्षणमा सिन्कोसमेत भाँचेनन् । बरु, उपमहानगरकै स्वामित्वमा रहेको सभागृहको अस्तित्वनै मेटाउनेतर्फ अग्रसर भए ।

अहिले हेटौंडा उपमहानगरपालिकाले यो स्थानमा बृहत व्यापारिक भवनसहित मनोरञ्जनका लागि भ्यू टावरको निर्माण गर्ने तयारी थालेको छ । हेटौंडा उपमहानगरपालिकाले सभागृह भत्काएर बासुदेव स्मृति कमर्सियल भ्युटावर बनाउने तयारी गरेको हो ।

सभागृह भत्काएर उपमहानगरले सोही स्थानमा १३ तलाको बहुउद्देश्यीय भवन निर्माणका लागि कम्पनीसँग सम्झौता गरिसकेको छ । कुल ७७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्का आह्वान गरिएकोमा ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माणको लागि सम्झौता गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*