कांग्रेस मकवानपुर : सभापतिका उम्मेदवार ‘आनन्दराम पराजुली’को सचिवालय स्थापना

हेटौंडा खबर
२० पुष २०७८, मंगलवार १३:३६

नेपाली कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुलीले आफ्नो सचिवालय स्थापना गरेका छन् ।

पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोकमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् ।

जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको पराजुलीको भनाई छ । ‘म सभापतिको पक्का उम्मेदवार हुँ’ । उनले भने, ‘पार्टीका क्षेत्रीय प्रतिनिधि र सम्पूर्ण कार्यकर्ताको मत र मन जितेरनै म सभापतिका लागि अघि बढेको हुँ, यसै शिलशिलामा हेटौंडा–२ कांग्रेस चोकमा सचिवालय स्थापना गरेर चुनावी प्रचारप्रसारलाई तीब्रता दिइएको हो’ ।

विगत ३ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका पराजुली यस पटकको जिल्ला अधिवेशनमा सभापतिका रुपमा उम्मेदवारी दिन लागेका छन् । पाँच पटक महाधिवेशन प्रतिनिधि, हेटौंडा उपमहानगर सभापति र जिल्ला सचिवसमेत भइसकेका पराजुली २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा झिनो मतान्तरले पराजित भएका थिए ।

पराजुलीले केहि दिनमै आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेका छन् । सचिवालय स्थापनाको सन्दर्भमा प्रतिक्रिया दिँदै पराजुलीले केहि दिनमै पूर्ण कार्यसमितिका उम्मेदवारसहितको प्यानल घोषणा गरेर चुनावी मैदानमा निस्किने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*