राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा एमालेका २ जनाले दर्ता गराए उम्मेदवारी

हेटौंडा खबर
२० पुष २०७८, मंगलवार १६:३२

राष्ट्रियसभामा रिक्त १९ पदका लागि आज उम्मेदवारहरूले उम्मेदवारी गराएका छन् । बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने २ जना सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुँदैछ ।

निर्वाचनका लागि बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुरका गोपाल शाक्य र महिलातर्फ सिन्धुलीकी निरकुमारी कुँवर दर्लामीले उम्मेदवारी दर्ता गराएकी हुन् ।

रिक्त हुन लागेको पदका लागि आगामी माघ १२ गते निर्वाचनको कार्य तालिका छ । आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । बागमती प्रदेशको मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा रहेको हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान स्थल तोकिएको छ ।

पुस २० गते उम्मेदवारी दर्ता, २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने समय छुट्याईएको छ भने २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*