हेटौंडाका सार्वजनिक यातायातले विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट नदिए कडा आन्दोलन गर्ने चेतावनी

हेटौंडा खबर
२१ पुष २०७८, बुधबार १७:५८

मकवानपुरका सार्वजनिक सवारीले विद्यार्थीलाई भाडामा छुट नदिए आफुहरु आन्दोलनमा जाने चेतावनी विद्यार्थीहरुले दिएका छन् ।

नेकपा एमाले निकट विद्यार्थी संगठन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले सार्वजनिक बसमा पाउनु पर्ने ४५ प्रतिशत भाडा छुटको माग गरेको हो ।

आज हेटौंडा स्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जिल्लाका साझा बस र सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको बताए । उनले भनेः ‘सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको धेरै गुनासो आए संगै हामीले विद्यार्थीले पाउनुपर्ने अधिकारको लागि सम्बन्धित निकायहरुलाई ध्यानार्षण गराउने र अटेर गरे आन्दोलनमा उत्रने निचोड निकालेका छौ’ ।

उनले काठमाण्डौ उपत्यकामा भाडा छुट संस्थागत भएको बताउँदै मकवानपुरमा पनि संस्थागत गर्न आन्दोलनको तयारी गरेको बताए । उनले यसअघि पनि सार्वजनिक बसहरुले भाडा छुट नदिएको र अनेरास्वियु मकवानपुरले आवाज उठाएपछि माग सम्बोधन भएको बताउँदै पछिल्लो समयमा यातायात व्यवसायीहरुले विभिन्न बहानामा भाडा छुट दिन नमानेको बताए ।

भाडाको विषयलामा व्यवसायीहरुले अटेर गर्ने,अवहेलना गर्ने र विद्यार्थीलाई गलत व्यवहार गर्ने गरेको पाईएको र आफ्नो माग सम्बोधन नभए भाडाछुटलाई संस्थागत गर्न पुनः आन्दोलनमा उत्रने विद्यार्थीको भनाई छ ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रीय सचिवाल सदस्य एवं मकवानपुर ईन्चार्ज किशन घिसिङले भाडा छुट काठमाण्डौ उपत्यकामा मात्रै संस्थागत हुन सकेको बताउँदै देशभर संस्थागत गर्न विभिन्न रचनात्मक आन्दोलनको कार्यक्रम गर्न केन्द्रीय कमिटीलाई ध्यानाकर्षण गर्ने बताए ।

उनले मकवानपुरको हकमा मनहरी,भीमफेदी,मकवानपुरगढी र हेटौंडा उपमहानगरपालिका भित्रका विद्यार्थीहरुले भाडा छुट नपाउँदा विद्यार्थी बढी मर्कामा पर्ने गरेको बताए ।

उनले जिल्लाका १० वटै स्थानीय तहलाई विद्यार्थीको भाडा छुटको अधिकारलाई सुनिश्चित गर्न अनेरास्ववियुले ध्यानाकर्षण गर्ने बताए ।

पत्रकार सम्मेलनमा अनेरास्ववियु मकवानपुरका उपाध्यक्ष द्वय अमृत बर्तौला,भुवन मैनाली,सचिव पुष्कर तिमल्सिना,सहसचिव प्रमोद फुयाँल,सचिवालय सदस्यहरु आशिष रौनियार,मनिस श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*