नेपालमा कोरोना संक्रमित बढ्दै, स्वास्थ्य मन्त्रालय भन्छ : ३० प्रतिशत बेड भरिए स्मार्ट लकडाउन

हेटौंडा खबर
२१ पुष २०७८, बुधबार १८:२०

नेपालमा पछिल्लो दिनमा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार २६७ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २३९ जना निको भएका छन् ।

यद्यपि पछिल्लो २४ घण्टामा कसैको कोरोनाबाट मृत्यु भने भएको छैन ।  हाल देशभर सक्रिय संक्रमित ५ हजार २२५ जना रहेका छन् भने त्यसमध्ये संस्थागत आइसोलेशनमा ३ हजार ७३ जना रहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् ।

उता स्वास्थ्य मन्त्रालयले अस्पतालका ३० प्रतिशत बेड कोभिड संक्रमित बिरामीले भरिए स्मार्ट लकडाउनमा जाने संकेत गरेको छ ।

बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता संगीता कौशल मिश्राले अस्पतालमा बेडको स्थितीबारे रिर्पोटिङ गर्न अस्पतालहरुलाई निर्देशन दिइन् ।

‘स्मार्ट लकडाउनको कार्यविधिले ३० प्रतिशतभन्दा बढी बेड भरिए प्रणालीमा चाप आउन नदिन स्मार्ट लकडाउन गर्नुपर्ने भनेको छ’ उनले भनिन्, ‘त्यस्तो अवस्था आउन नदिन सबै नागरिकले अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।’

नेपालको कोरोनाको आर भ्यालू पनि १.०६ प्रतिशत पुगेको छ । आर भ्यालू एक प्रतिशतभन्दा बढ्नुले महामारी नियन्त्रणबाहिर गएको संकेत गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*