जिल्ला युवा समितिका अध्यक्ष शिवहरी दाहालले दोहोरो सरकारी सुविधा उपभोग गरेको खुलासा

हेटौंडा खबर
२६ पुष २०७८, सोमबार २३:२९

जिल्ला युवा समितिका अध्यक्ष शिवहरी दाहालले विगत १० महिनासम्म दोहोरो सरकारी सुविधा उपभोग गरेको खुलेको छ । उनले २०७७ फागुनदेखि २०७८ मङ्सिरसम्म दोहोरो सरकारी सुविधा उपभोग गरेका हुन् ।

दाहालले राष्ट्रिय युवा परिषद र भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी बजार विकास कार्यक्रमबाट तलब लिएको पाइएको छ ।

उनले जिल्ला युवा समितिको अध्यक्ष भएपछि मासिक २५ हजार भन्दा माथिको दरले सुेवासुविधा उपभोग गरिरहेका छन् भने विगत ४ वर्षदेखि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी बजार विकास कार्यक्रमको मकवानपुर संयोजक भएर त्यसको पनि  मासिक तलब सुविधा उपभोग गर्दै आएका थिए ।

दाहालले जिल्ला युवा समितिको अध्यक्ष नियुक्त भएपछि पनि सहकारी बजार विकास कार्यक्रमको जिल्ला संयोजकका रुपमा तलब सुविधा उपभोग गरिरहेका थिए ।

दोहोरो तलब सुविधाको विषय बाहिर आउने चाल पाएपछि सहकारी बजार विकास कार्यक्रमको समय अवधि सकिन एक महिना बाँकी रहँदा उनले पदबाट राजीनामा दिए । हाल सहकारी बजार विकास कार्यक्रमको समयावधि पनि समाप्त भइसकेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय र यूएनडीपीको साझेदारी संचालित उक्त कार्यक्रम बागमती प्रदेशको मकवानपुरसहित धादिङ, ललितपुर, काभ्रे, चितवन र नुवाकोटमा संचालित छ । ४ वर्ष संचालनमा रहेको सो कार्यक्रमको गत मंसिर अन्त्यमा समयावधि समाप्त भएको थियो ।

दाहालले आइतबार जिल्ला युवा समिति मकवानपुरको अध्यक्षको रुपमा पदभार ग्रहण गरेका छन् । नियुक्त भएको करिव ११ महिनापछि उनले पदभार ग्रहण गरेका हुन् ।

२०७७ फागुनमा नियुक्त भएका दाहालले कार्यालय अभावका कारण पदभार ग्रहण गरेका थिएनन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको पहिलो तलाको एउटा कोठामा आफ्नो कार्यालय स्थापना गरेर उनले पदभार ग्रहण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*