कोरोनाको जोखिम बढेपछी मकवानपुर प्रशासनको कडाई, आज रातिदेखि लागु हुने गरि यस्तो आदेश

हेटौंडा खबर
२७ पुष २०७८, मंगलवार २०:००

कोरोना संक्रमण बढेसँगै मकवानपुर प्रशासनले कडाइ गरेको छ ।

कोरोना रोकथान तथा नियन्त्रणका लागि जिल्ला कोभिड व्यवस्थापन समिति, मकवानपुरको मंगलबारको निर्णय, संकट व्यावस्थापन समन्वय केन्द्रको सिफारिस, श्री गृह मन्त्रालयको निर्णय अनुसार जिल्ला प्रशासनबाट विभिन्न कुरामा कडाई गर्ने आदेश जारि भएको छ ।

संक्रामक रोग ऐन, २०२१ को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी आज राति १२ बजेदेखि लागुहुने गरि निम्न आदेश जारि गरिएको छ ।

१. आवश्यक काम परी घरबाहिर निस्कनुपर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, नगराउने ।

२. भौतिक रूपमा २५ जना भन्दा बढी उपस्थित भई हुने सबै प्रकारका (राजनीतिक समेत) सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, मेला, जात्रा, महोत्सवहरू आयोजना नगर्ने, नगराउने । अत्यावश्यक नगरी नहुने कार्यक्रमको हकमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरको अनुमति लिएर मात्र गर्ने ।

३. सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था तथा सहकारीहरूले भिडभाड नहुने सुनिश्चतता गरी भौतिक दूरी कायम एवं जनस्वास्थ्यका मापदण्डहरू पूर्ण पालना गरी, गराई सेवा प्रवाहको व्यवस्था मिलाउने ।

४. सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हुने गरी मिति २०७८ पौष २७ गतेदेखि २०७८ माघ १५ गतेसम्म विदा दिने श्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयानुसार सबै विद्यालयहरूले गर्ने । क्याम्पस लगायत सबै शैक्षिक संस्थाहरूले पूर्व निर्धारित परीक्षाहरू तोकिएका जनस्वास्थ्यका मापदण्डहरू पालना गरी सञ्चालन गर्ने । परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्ने र भौतिक दूरीको प्रावधान कडाइकासाथ परिपालना गर्ने ।

५. होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरूले दैनिक रूपमा निसंक्रमित गर्ने व्यवस्था मिलाउने र कामदार तथा कर्मचारीहरूलाई मास्क, Face Shield लगायतका जनस्वास्थ्यका मापदण्डहरू पूर्णरूपमा पालना गरेको सुनिश्चित गर्ने । साथै उद्योग कलकारखाना तथा व्यापार व्यवसाय सञ्चालन गर्दा भिडभाड नहुने सुनिश्चितता गरी जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गर्ने ।

६. सार्वजनिक यातायातहरूमा चालक, सहचालक तथा यात्रुहरूलाई मास्क अनिवार्य गर्ने र खोप लिएका व्यक्तिहरूलाई मात्र यात्राको सुनिश्चितता गर्ने ।

७. मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा नित्य पूजा बाहेक अन्य धार्मिक क्रियाकलापहरू संचालन नगर्ने । ८. पार्क तथा पिकनिक स्पोटहरू र खेलमैदानमा हुने सामूहिक खेलकूदहरू बन्द गर्ने ।

९. मिति २०७८ माघ ७ गतेदेखि लागू हुने गरी सार्वजनिक स्थानहरू (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, पार्क आदि)मा प्रवेश गराउँदा र सार्वजनिक सेवा प्रदान गर्दा सम्बन्धित निकायहरूले कोभिड विरूद्धको खोप लगाएको, कार्ड (मोबाइलमा फोटो भएपनि हुने) अनिवार्य गर्ने साथै जनस्वास्थ्यका मापदण्डहरू पूर्ण पालना गर्ने, गराउने ।

यसमा तपाइको मत

Your email address will not be published.


*