हेटौंडामा प्रहरीको ज्याद्दती : कामदार लिन गएका लामिछाने दिनभर थुनामा, दलको कार्यक्रमलाई प्रहरीकै सहयोग

हेटौंडा खबर
२७ पुष २०७८, मंगलवार २२:२५

हेटौंडाको बुद्धचोकमा बिहान ६ बज्नु भन्दा अगाडिदेखिनै दैनिक ज्याला मजदुरमा खटिने कामदारहरुको निकै भिड लाग्ने गर्छ । त्यहि भीडबाट कामदारहरु छानेर आफ्नो काममा लाने गरिन्छ । त्यो सधै चलिरहन्छ ।

हेटौंडाका ध्रुव लामिछाने घर निर्माण सम्बन्धी काम गर्छन् । सजिलो भाषामा भन्दा ठेकेदार । उनि मंगलबार बिहान ८ बजेतिर केहि कामदार आफ्नो काममा लैजान भनि बुद्धचोक आए । कामदार भएकोतिर जानै लाग्दा एक प्रहरीले उनलाई बोलाई हाले र सोधे तपाई ठेकेदार हो ? उनले हो भने । त्यतिकैमा प्रहरीको ताण्डव रुप सुरु भैहाल्यो । कोरोनाको समयमा मान्छे जम्मा गराउने ? भिडभाड बढाउने ? भन्दै उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुर्यायो ।

उनलाई एकैछिनमा प्रहरी आफैले अपराधि बनायो र प्रहरीको गाडीमा कोचेर लग्यो र थुनामा राख्यो ।

त्यसको एकैछिन पछी त्यहि स्थानमा आज पृथ्वी जयन्ती  परेको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी तथा विभिन्न संगठनले कार्यक्रम गर्यो । कार्यक्रममा भिडभाड अचाक्ली थियो,र्यालीसमेत भयो । तर उक्त कार्यक्रममा प्रहरी पहरेदार बन्यो, सुरक्षा दियो ।

उता ३-४ जना लेभर,मिस्त्री लिन गएका ध्रुब लामिछाने प्रहरी हिरासतमा छन् । उनका आफन्तले प्रहरी कार्यालय पुगेर त्यो भिड जम्मा गर्ने व्यक्ति होईन, अबदेखि भिडभाडमा जादैनौं भन्दै हार-गुहार गरे ।

तर प्रहरीले बनाएको अपराधि थिए लामिछाने, त्यसै कहाँ छाड्थ्यो । ‘जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी साव आएपछि उहाको आदेशमा मात्र छोड्न मिल्छ’ भनि उनलाई थुनामै राख्यो प्रहरीले । बागमती गाउँपालिका पुगेका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङ कहिले आईपुग्ने हुन् टुंगो थिएन ।

विभिन्न व्यक्ति मार्फत प्रहरी प्रमुखलाई फोन गर्न लगाएर धेरै कोसिसपछी बल्ल बल्ल प्रहरीले उनलाई छोड्यो तर एसपी आएपछि पुनः उपस्थित हनुपर्ने सर्तमा  । बिहान ९ बजे प्रहरीको हिरासतमा पुगेका लामिछाने ३ बजे निस्किए ।

पछी एसपी कार्यालयमा आइपुगेपछि पुनः प्रहरी कार्यालयमा उपस्थित भई कागज गराएर सहिछाप गरेर उनि फर्किए ।

साझ परेपछि बिहान जस्तै चारैतिरबाट मानिस जम्मा भए बुद्धचोकमा । भिडभाड जम्मा पारेर राप्रपा र निकट अन्य संगठनको आयोजनामा दिप प्रज्वलन कार्यक्रम भयो । त्यसमा प्रहरी वरिपरी बसेर कार्यक्रम सफल बनाउन सहयोग गर्यो ।

यो घटना आज हेटौंडामा भएको भएको हो । यो एउटा प्रतिनिधि घटना मात्र हो । मकवानपुर प्रहरीले यस्ता ज्याद्दती सधै गर्ने गरेको छ । एक निर्दोष नागरिकलाई आफैले दोषी बनाएर मुदासमेत चलाउन पछी पर्दैन प्रहरी । प्रहरीको यो ज्याद्दतीलाई नागरिकले हेटौंडाका प्रहरी ‘पुलिसवाला गुण्डा’ भन्दै आक्रोस पोख्ने गरेका छन् ।

विभिन्न राजनीतिक दल र तिनमा संगठनले भेला,सभा र भिड जम्मा पार्दै कार्यक्रम गर्दा भने टुलुटुलु हेरेर बस्छ प्रहरी । तर एक सोझो नागरिकलाई जानाजान दुख दिन्छ र घन्टौं हिरासतमा राखेर कारवाही गर्छ ।

४ जना कामदार लिन आएका लामिछानेलाई दिनभरी थुन्ने प्रहरीले आज हेटौंडामा भएको राप्रपाको कार्यक्रमबाट कतिजना समात्यो ? जिल्ला प्रहरी कार्यालयका प्रवक्तालाई हामीले यो प्रश्न सोध्यौं तर उत्तर दिएन प्रहरीले ।

यो घटनाका बारे प्रहरीले यो त्यति ठुलो कुरो नभएको र प्रहरी कार्यालयमा ल्याएर सम्झाई बुझाई पठाएको प्रतिक्रिया दियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*