अब हेटौंडा छिर्न पीसीआर रिपोर्ट अनिवार्य, खोप नलगाएकालाई नाका मै लगाईदिने

हेटौंडा खबर
३० पुष २०७८, शुक्रबार १०:०८

दुई नम्बर  प्रदेशबाट आएकालाई हेटौंडा प्रवेश गर्न कोरोना परिक्षण गरेको पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने भएको छ ।

बागमती प्रदेशको मुकाम हेटौंडामा दैनिक संक्रमित बढीरहेको र भारत हुँदै मध्यनेपाल प्रवेश गर्नेहरुको संख्या बढी हुने भएकाले अनिवार्य पीसीआर देखाउनु पर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।  बिहीबार साँझ मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बैठकले २ नम्बर प्रदेशबाट बागमतीमा प्रवेश गर्न अनिवार्य पीसीआर देखाउनु पर्ने निर्णय गरेको छ ।

कोरोनाको नयाँ  भेरियन्ट ओमिक्रोनको सम्भावित खतरा न्यूनीकरण गर्न अनिवार्य पीसीआर रिपोर्ट देखाउनु पर्ने निर्णय गरिएको स्वास्थ्य मन्त्री निमा लामाले जानकारी दिए । ‘बागमती देशका सात प्रदेशमध्ये धेरै संक्रमणबाट जोखिम भएको प्रदेश हो ।

कोरोना संक्रमणको  रोकथामका लागि २ नम्बर प्रदेशबाट प्रवेश गर्नेका लागि अनिवार्य पीसीआर देखाउनु पर्ने निर्णय भएको छ ।,’ मन्त्री लामाले भने । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेको र तराईक्षेत्रबाट बागमती प्रदेश प्रवेश गर्नेहरुको संख्या बाक्लो भएकोले पीसीआर रिपोर्ट अनिवार्य गरिएको लामाको भनाई छ ।

कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बैठकले २ नम्बर प्रदेशको हरेक नाकामा कोरोनाविरुद्धको भ्याक्सिन (खोप) लगाउने व्यवस्था मिलाउने निर्णय गरेको मन्त्री लामाले जानकारी  दिए ।

‘२ नम्बर प्रदेशको सबै नाकामा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन व्यवस्था मिलाउने निर्णय भएको छ । जसरी हुन्छ बागमती प्रदेशबासीलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट बचाउनु पर्ने दायित्व छ । प्रदेश– बासीलाई सुरक्षित राख्न प्रदेशले सबैजसो प्रयास गरिरहेको छ ।,’ उनले भने ।

यात्रुबाहक र मालबहाक सवारीसाधनका चालकहरु अधिकांशले कोरोनाविरुद्धको खोप नलगाएको जानकारीपछि प्रदेशले नाकामै कडाई गर्ने नीति अप्नाएको बुझिएको छ । चालकहरुले खोप नलगाएकालाई उनीहरुलाई नाकामै र जिल्लाका सबै बसपार्कहरुमा कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्र स्थापना गर्ने निर्णय कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिले गरेको स्वास्थ्य मन्त्री लामाले जानकारी दिए ।

प्रदेश सरकारले समुदायमै पुगेर खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । समितिले बागमती प्रदेशका विकट क्षेत्रमा  खोप केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । मकवानपुर, धादिङ,  रामेछाप, सिन्धुपाल्चोक, चितवन, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोकका विकट क्षेत्रका नागरिकले खोप नलगाएको पाएपछि गाउँमै पुगेर खोप लगाइने स्वास्थ्य मन्त्री लामाले  बताए । ‘अझैसम्म पनि विकट क्षेत्रका नागरिकले खोप लगाएका छैनन् भन्ने तथ्यांकले देखाउँछ । उनीहरुलाई सचेतना जगाउँदै समुदायमै पुगेर खोप लगाउने व्यवस्था प्रदेश सरकारले गर्नेछ ।,’ लामाले भने ।

प्रदेश सरकारले केही दिनअघि मात्रै ४ सय ७९ जना स्वास्थ्यकर्मीको करार ६ महिनालाई थप गर्ने निर्णय गरेको थियो । तत्कालीन प्रदेश सरकारले कोभिड–१९ रोकथामका लागि भन्दै नियुक्त गरेको स्वास्थ्यकर्मीको करार समयावधि यही पुसमा सकिन लागेको थियो । समितिले कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि प्रदेशका एक सय १९ वटै स्थानीय तहसँग छलफल अगाडि बढाउने निर्णय गरेको छ ।

प्रदेशबासीलाई जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने समितिले निर्णय गरेको जनाइएको छ । अब भिडभाडमा नियन्त्रण, अनिवार्य मास्क र सेनिटाइजर लगाउनु पर्नेछ ।

आजको साझाकुरा दैनिकबाट ।

यसमा तपाइको मत

Your email address will not be published.


*