हेटौंडा अस्पतालका अध्यक्ष र मेनेजरको गैर कानुनि काम, किन हुदैन कारबाही ?

हेटौंडा खबर
१ फाल्गुन २०७८, आईतवार २०:४५

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको हेटौंडा अस्पतालका अध्यक्ष र मेनेजरको मिलेमतोमा कानुन विपरितका दर्जन बढी कामहरु गरेको पाईएको छ ।

अस्पतालका अध्यक्ष एवं प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाई र हेटौंडा अस्पतालका मेनेजर सुरेन्द्र देव बडूको मिलेमतोमा नियम मिचेर लाखौँका काम गरेको भेटिएको हो ।

अस्पतालमा नियम मिचेरै झन्डै १ करोडको सामाग्री खरिद गरेको, टेन्डर प्रक्रियामा आफूखुसी हस्ताक्षर गरी गैरकानुनि ढंगबाट खरिद प्रक्रिया अघि बढाईएको र तिनको बिल भुक्तानी गर्न कर्मचारीलाई दवाव दिएको पाईएको छ । अध्यक्ष र मेनेजरको मिलेमतो मै गत आर्थिक वर्षमा सकिएका ठेक्का सम्झौता नवीकरण र पुनः प्रक्रिया नै नगरी लाखौँका सामान आफूखुसी खरिद गरेको भेटिएको हो ।

अस्पतालमा चाहिने विविध स्वास्थ्य सामाग्री खरिद, भवन निर्माण, उपकरण खरिदलगायतका कुराहरु सार्वजनिक खरिद ऐन विपरित गरिएको छ  । थाईराइड मेशिन, वायो केमिकल एनेलाइजर, प्रोटिन एनेलाइजरलगायतमा लाग्ने सामाग्री सिधै खरिद गरिएको छ भने कोरोना माहामारीमा निर्माण गरिएको एचडियु कक्षमा राखिएका उपकरण खरिदमा अस्पतालका मेनेजरले आफूखुसी हस्ताक्षर गरी टेन्डर प्रक्रियानै गैरकानुनि ढंगबाट अघि बढाइएको थियो ।

त्यति मात्र होईन आधिकारिकता नै पुष्टि नभएको कम्पनि संग लाखौँको मेशिन प्रतिष्ठानबाट खरिद गरेर हेटौंडा अस्पतालमा राखिएको, अघिल्लो वर्षको तुलनामा अस्पतालमा लाग्ने स्वास्थ्य सामग्रीहरु ३ गुणा बढीमा खरिद गर्ने सम्झौता गरेको, लाखौँका बिल बिक्रेतासंगको मिलेमतोमा खुद्रे बिल बनाई पेश गरेकोलगायतका थुप्रै गैरकानुनि काम गरेको पाइएको छ ।

उता अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिष्ठान विरुद्ध उजुरी समेत परेको छ । प्रतिष्ठान विरुद्ध थुप्रै उजुरी परेको बुझिएपनि अख्तियारको कारवाही र अनुसन्धान प्रक्रिया कहाँ पुगेको छ अख्तियारले खुलाएको छैन ।

यता अध्यक्ष र अस्पतालका मेनेजरले कानुन मिचेर गरेका कामका कारण त्यसको असर भने बिरामीले भोग्न बाध्य भएका छन् ।

कानुन मिचेर लाखौँको सामान खरिद गरेपछि त्यसको बिल भुक्तानी भएको छैन । कर्मचारीलाई भुक्तानीका लागि अध्यक्ष प्रसाईले दवाव दिएको स्रोतले बताएको छ । उता सामानको भुक्तानी रोकिएकाले बिक्रेताले सामान पठाउन छाडेपछि अस्पतालमा विभिन्न चेकजाच प्रभावित बनेका छन् । परिक्षण गर्दा लाग्ने केमिकललगायतका सामाग्रीको अभावमा अहिले हेटौंडा अस्पतालमा विभिन्न परिक्षणहरुनै बन्द भएका छन् ।

यसरी हेटौंडा अस्पतालमा अध्यक्ष र मेनेजरले कानुन मिचेर थुप्रै प्रक्रिया अघि बढाएपनि कारबाही भने हुन सकेको छैन । लाखौँ घाटामा भएको हेटौंडा अस्पताल एक वर्ष अघिसम्म विभिन्न सेवा सुविधा थप गर्दै ४ करोड रुपैयाँ बचत गर्न सफल भएको थियो ।

तर अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा लगेपछि विवादै विवाद चुलिएको छ भने राजनीतिक आडमा कर्मचारीलाई गाजिर खुवाउने अड्डा र भ्रस्टाचार गर्ने ठाउँ बनेको नागरिकले आरोप लगाउन थालेका छन् ।

यो पनि पढ़नुहोस् 

 

यसमा तपाइको मत

Your email address will not be published.


*