‘मनहरी’ नाम मात्रैको बालमैत्री गाउँपालिका, सयौं बालबालिका निकृष्ट श्रममा

हेटौंडा खबर
१० फाल्गुन २०७८, मंगलवार २१:०१

मकवानपुरमा बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने गाउँपालिकाको रूपमा मनहरी र बकैया घोषणा भइसकेका छन् ।

जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी देशकै पहिलो बालमैत्री गाउँपालिका हो । बकैया अघिल्लो वर्ष मात्रै बालमैत्री गाउँपालिकाको रूपमा घोषणा भएको थियो । तर, यी दुवै गाउँपालिकाका बालबालिका निकृष्ट श्रममा रहेको एक अध्ययनले देखाएको छ ।

मनहरीमा बालश्रमको अवस्थाबारे सिबिन बाल हेल्पलाइन नेपाल मकवानपुरले अध्ययन गरेको थियो । अध्ययनले बालमैत्री गाउँपालिकाकै धेरै बालबालिका श्रममा रहेको पाइएको हो ।

मनहरीका २, ४, ६ र ८ नम्बर वडामा ७ हजार १४ जना बालबालिकामा गरिएको अध्ययनबाट ३ सय ५१ जना बालबालिका बालश्रममा रहेको सिबिन मकवानपुरका प्रमुख झवीन्द्र ज्ञवालीले जानकारी दिए । बालबालिकामा गरिएको सर्वेक्षणमा आर्थिक कारणले २ सय ८६ जना घरेलु हिंसाका कारणले २१ जना, साथीभाइहरूको प्रभावले १ सय १५ जना, परिवारको दबाबले छ जना, रोजगारदाताद्वारा प्रभावित भएर १९ जना, पढाइमा रुचि नभएर १७ जना श्रममा लागेको ज्ञवाली बताउँछन् ।

मनहरीको २ र ४ नम्बर वडाका बढी बालबालिका गलैँचा कारखानामा काम गरिरहेको सर्वेक्षणले देखाएको सिबिनका प्रमुख ज्ञवालीले जानकारी दिए । ६ नम्बर वडाका घरेलु बालश्रम र गलैँचा कारखाना र यातायात क्षेत्रमा बढी बालबालिका कार्यरत रहेको ज्ञवाली बताउँछन् । ८ नम्बर वडाका बालबालिका घरेलु श्रम र यातायात क्षेत्रमा बढी कार्यरत छन् ।

बालश्रमिकहरूमध्ये विवाहित ११ जना र अविवाहित ३ सय ४० जना रहेको बालबालिकाको क्षेत्रमा काम गरिरहेको सिबिन मकवानपुरले जनाएको छ । बालश्रममा लागेका बालक २ सय ३९ जना र बालिका एक सय १२ जना छन् । मनहरी गाउँपालिकाभित्र १ सय ४४ जना र मनहरी गाउँपालिका बाहिर २ सय सात जना बालबालिकाले श्रम गरिरहेको सिबिनको तथ्याड्क छ ।

घरेलु श्रममा रहेकामध्ये अधिकांश बालबालिका आफ्नै घरमा ३४ जना, आफन्तको घरमा १४ जना र केही बालबालिका अपरिचित व्यक्तिको घरमा काम गरिरहेका छन् । ती बालबालिकाहरू विद्यालय जान नपाएको अध्ययनले देखाएको सिबिनले जनाएको छ । अध्ययन गरिएका बालबालिकाहरूमध्ये उमेर समूहअन्तर्गत ६ देखि १० वर्षका ११ जना, ११ देखि १५ वर्ष उमेर समूहका १ सय ३५ जना, १६ देखि १८ वर्ष उमेर समूहका २ सय ५ जना गरी ३ सय ५१ जना छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*