माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुक्रबार

हेटौंडा खबर
१८ फाल्गुन २०७८, बुधबार १२:२८

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शुक्रबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा केन्द्रीय कमिटीको बैठक बस्ने माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

श्रीराम ढकालका अनुसार केन्द्रीय कमिटीमा समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमासमेत छलफल हुनेछ।गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन।

महासचिव कसलाई बनाउने भन्नेमा सहमति जुट्न नसकेपछि महाधिवेशनको बन्दसत्रले पदाधिकारी चयन गर्न नसकेको हो। बन्दसत्रले पदाधिकारीसहितको विधानमा आवश्यक परिमार्जन गरेर अन्तिम रुप दिने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिइएको छ। मुख्यत नेकपा माओवादी केन्द्रको महासचिव चयनमा सकस देखिएको छ।

महाधिवेशनको हलबाट पदाधिकारीको संख्या र पदाधिकारी निर्वाचन गर्न नसकेपछि टुंग्याउने जिम्मा केन्द्रीय कमिटीको पहिलो बैठकलाई दिएको थियो । तर केन्द्रीय कमिटीको पहिलो बैठकबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सर्वसम्मत अध्यक्ष बनाउन सफल भएपनि आन्तरिक विवादलेहालसम्म अन्य पदाधिकारी चयन गर्न सकेका छैनन्।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*