हेटौंडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने

हेटौंडा खबर
१९ फाल्गुन २०७८, बिहीबार १८:२१

हेटौंडामा विभिन्न प्रकारका शारिरिक समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ ।

सुष्मा कोइराला मेमोरियल अस्पतालको आयोजना र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोगमा फागुन २१ गते शनिवार निःशुल्क स्वास्थ्य परिक्षण शिविर हुने भएको हो ।

हेटौंडा अस्पताल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी शिविर संचालन गर्न लागिएको  जानकारी गराएको हो । शिविरमा आगोले पोलेको तथा शरिरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने भएको, अंगभंग भएको, आगोले पोलेर कपाल गुमाएका विरामीहरु, जन्मजात हातगोडाको औँलाहरु टाँसिएको, बाङ्गिएको, हात गोडामा जन्मजात पाँचभन्दा बढी औँलाहरु टाँसिएको, जन्मजात ओठ तथा तालु फाटेको विरामीहरुको स्वास्थ्य अवस्था परिक्षण गरिने अस्पतालले जनाएको छ ।

त्यस्तै मांसपेशी खुम्चिएर शरिरको कुनै भाग चलाउन नमिल्ने, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएको, हातगोडा काटिएको ठाउँमा पाकेर, नचल्लने भएको, कान तथा नाक चिरिएको विरामी, शरिरमा मुसा, कोठी, दाग तथा गाठाहरुको शल्यक्रिया गर्नुपर्ने तथा क्यान्सर सम्बन्धी विरामीहरु, हर्निया, हाइड्रोसिलका विरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भएका विरामीको परिक्षण गरिने जनाइएको छ ।

शिविरमा स्वास्थ्य परिक्षणपश्चात शल्यक्रिया गर्नुपर्ने अवस्था भएमा त्यस्ता विरामीहरुलाई उपचार अवधिभर गाँस बासको निःशुल्क व्यवस्थापन मिलाइने र शल्यक्रिया पनि निःशुल्क हुने अस्पताल संचालक समितिका अध्यक्ष उत्सव चौँलागाईले बताए । शिविरको लागि सुष्मा कोइराला मेमोरियल अस्पतालबाट २ जना सर्जन र केही डाक्टरहरु आउने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*