एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको- गृहमन्त्री खाण

हेटौंडा खबर
२३ फाल्गुन २०७८, सोमबार १४:२८

गृहमन्त्री बालकृष्ण खाणले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको बताए । नेपाल निजामती कर्मचारी संगठन गृह विभागीय १२ औं अधिवेशनको सोमवार गृह मन्त्रालयमा उद्घाटन गर्दै गृहमन्त्री खाणले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने बताएका हुन् ।

‘एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पारित गरेका हौँ । एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा आउन्न,’ गृहमन्त्री खाणले भने । एमसीसीले विद्युतमा विकास, गरीबी निवारण र भौतिक विकासमा सहयोग गर्ने उनको भनाइ थियो । अहिले एमसीसीले दिएको सहयोगको ठूलो हिस्सा विद्युतको ट्रान्समिसन लाइन निर्माणमा र केही सडक निर्माणमा प्रयोग गरिने गृहमन्त्री खाणले बताए ।उनले विद्युतको तारबाट विद्युत आउने, विदेशी सेना नआउने बताए ।  ‘

उनले नेपालमा उत्पादित विद्युत खपतका लागि आवश्यक ट्रान्समिसन लाइन एमसीसीमार्फत आउने सहयोगबाट निर्माण हुने बताए । एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनीयता कायम हुने र दातृ निकायले भरोसा कायम गर्ने वातावरण निर्माण भएको उनको भनाइ थियो ।एमसीसी ऋण नभई अनुदान भएको बताउँदै उनले आयोजनामा काम गर्न अमेरिकी कामदार आउने भन्ने प्रचार भ्रममात्रै भएको बताए । उनले भने,  ‘आयोजनामा नेपालीले नै काम गर्ने हो, अमेरिकी कामदार आउँदैनन् ।’

एमसीसी सहयोगबाट सञ्चालन हुने परियोजनामा जुनसुकै कम्पनीले पनि टेण्डर हालेर काम पाउन सक्ने उनको भनाइ थियो । यो सहयोगबाट परिचालित आयोजनाको लेखा परीक्षण गर्ने अधिकार महालेखा परीक्षकको कार्यालयलाई हुने उनले बताए । फरक प्रसंगमा गृहमन्त्री खाणले राष्ट्रसेवक कर्मचारीलाई उचित पारिश्रमिक दिन सकियोस् भन्ने पक्षमा सरकार रहेको बताए ।

साधन र स्रोतको अभावमा सोचेजति पारिश्रमिक दिन नसकिएको उनले बताए । राष्ट्रसँग स्रोत र साधन बढेमा पारिश्रमिक बढाउँदै लैजाने सोचमा सरकार रहेको उनको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*