आउँदो वर्ष ९५ दिन सार्वजनिक बिदा, दशैँ बिदा छ दिन

हेटौंडा खबर
२७ फाल्गुन २०७८, शुक्रबार १२:०१

२०७९ सालमा सार्वजनिक र शनिबार गरी ९५ दिन बिदा हुने भएको छ । संवत् २०७९ मा नेपाल सरकारले शनिबार बाहेक ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आगामी वर्ष सार्वजनिक बिदाबाहेक ५२ वटा शनिबार परेका छन् । गृह मन्त्रालयले बैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।

गौरा पर्व, महाशिवरात्रि र अन्तर्राष्ट्रिय अपाङ्गता दिवस शनिबारकै दिन परेकाले बिदा जोगिएका छन् । आगामी वर्षभरिमा विभिन्न चाडपर्वका लागि २० दिन, महिला कर्मचारीका लागि दुई दिन, शिक्षण संस्थाका लागि एक दिन, काठमाडौँ उपत्यकाका लागि मात्र चार दिन, दशैँ बिदा छ दिन, तिहार बिदा पाँच दिन, सबैका लागि पाँच दिन विभिन्न दिवस बिदा परेका छन् । त्यसैगरी अपाङ्गता भएका व्यक्तिका लागि एक दिन र विभिन्न जन्मजयन्तीका लागि तीन दिन बिदा दिइएको छ ।

विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदाअनुसार बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन गर्न सक्ने छन् । मन्त्रालयका अनुसार नेपाल सरकारले तोकेका सार्वजनिक बिदाबाहेक विभिन्न प्रदेश सरकारले प्रदेशको धर्म, संस्कृतिअनुसार बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका सङ्घीय कार्यालयमा समेत सार्वजनिक बिदा गरिनेछ ।

सरकारले पृथ्वी जयन्तीमा भने २०७९ सालमा पनि बिदा दिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*