काभ्रेकाे महाभारत हुँदै हेटौंडा जोड्ने सडकलाई ५० करोड छुट्याइने

हेटौंडा खबर
२७ फाल्गुन २०७८, शुक्रबार १४:४०

बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा रहेकाे पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडककाे लागि ५० करोड रुपैयाँ छुट्याउने निर्णय गरेको छ ।

प्रदेश राजधानी हेटौँडा जोडिने सडक स्तरोन्नतिका लागि मात्र दुई अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ । डाँडापारि क्षेत्रमा रहेकाे याे सडक आयोजना क्रमागत बनाइ प्रदेश सरकार तथा सङ्घीय सरकारबाट थप बजेट ल्याउने विषयमा छलफल अघि बढाउने महाभारत गाउँपालिकाको योजना छ । ६४ किलोमिटर लामो यस सडकको पिन्थलीतर्फबाट गाउँपालिकाको केन्द्र घर्तीछापसम्म अर्को बजेटबाट ६७ करोड रुपैयाँ बजेटबाट स्तरोन्नति भइरहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

उहाँका अनुसार थप दुई अर्ब १० करोड रुपैयाँले मात्रै काभ्रेको क्षेत्रभित्र पर्ने ६४ किमी सडक पक्की गर्न सकिने अध्ययनले देखाएको छ । स्तरोन्नतिका लागि प्रदेश सरकारबाट विनियोजित हुने सडकको ‘ट्र्याक’ मात्रै खोलिएको छ । ट्र्याक मात्रैको कच्ची सडकमा वर्षाका समय गाडी नचल्ने भएकाले स्तरोन्नतिसहित पक्की गर्न केही वर्षदेखि प्रदेश सरकारसँग बजेट माग गर्दै आएको बताइन्छ।

प्रदेशमा रहेका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले याे सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षको बजेटबाटै ५० करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय भएको बताए । ‘यो सडकका लागि लामो समयदेखि बजेट माग गरिरहेका थियौँ, बल्ल विनियोजन गर्ने निर्णय भएको छ’, उनले भने ।

याे सडक मकवानपुरको वाग्मती गाउँपालिकाको केन्द्र झुरझुरेमा रहेकाे धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिनेछ । काभ्रेपलाञ्चोकको दक्षिणीतर्फको महाभारत पर्वत शृङ्खलापारि अवस्थित डाँडापारि क्षेत्रलाई प्रदेश राजधानी हेटौँडासँग जोड्ने पक्की सडक नहुँदा आवतजावतमा सास्ती हुने गरेकाे छ । जिम्बाले सडक राम्रो भए डाँडापारिका क्षेत्रका मात्र नभइ दोलखा, रामेछाप, सिन्धुपाल्चोकको नागरिकसमेत लाभान्वित हुने बताए ।

‘अहिले जिल्लाको जनप्रतिनिधिसमेत राजधानी पुग्न अर्को जिल्ला भएर जानुपर्ने बाध्यता रहँदै आएको छ,उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*