हेटौंडामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता सुरु

हेटौंडा खबर
२८ फाल्गुन २०७८, शनिबार २२:०६

हेटौंडामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रथम खेलकुद प्रतियोगिताको शनिबार साँझ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रथम प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

हेटौंडा स्थित पिप्ले क्याम्पा रंगशालामा मुख्यमन्त्री पाण्डेले धावक वैकुण्ठ मानन्धरलाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हन् । उनीसँगै ओलम्पियन दीपक विष्ट, संगीना वैद्य र कान्छिमाया कोजु सहभागी थिए ।

सेना, प्रहरी, खेलाडी तथा विद्यार्थीहरुले मार्चपास तथा झाँकी प्रदर्शन गरेका थिए ।कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ,प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल,प्रदेशका मन्त्रीहरु,प्रदेश खेलकुद परिषद्का पदाधिकारीहको सहभागिता रहेको थियो ।

चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठवटा खेल समावेश गरिएको छ । फुटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, कराते, एथ्लेटिक्स, बक्सिङ र व्याड्मिन्टन खेललाई प्रतियोगितामा समावेश गरिएको छ । खेलहरु मकवानपुर, चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा हुनेछन् ।

मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, व्याडमिन्टन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता हुनेछ । चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेबाट कराँते खेल हुनेछ ।

काठमाडौंमा चैत ६ गतेदेखि एथ्लेटिक्स प्रतियोगिता हुनेछ भने काभ्रेमा ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङको प्रतियोगिता हुनेछ । प्रतियोगिताको समापन काभ्रेको धुलिखेलमा हुनेछ ।

प्रतियोगिताको लागि ८ करोड ४ लाख रुपैयाँ रकम खर्च हुने अनुमान गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*